दीपेन्द्रसिंह ऐरीको लय भंग

दीपेन्द्रसिंह ऐरीको लय भंग

काठमाडौं । भारतीय प्रशिक्षक मोन्टी देसाईले नेपाली टिम सम्हालेपछि ब्याटिङ क्रममा केही परिवर्तन गरे । उनले गरेको एउटा महत्त्वपूर्ण फेरबदल हो, दीपेन्द्रसिंह ऐरीलाई मध्य क्रमबाट तल्लो क्रममा घटुवा ।

लामो समयदेखि नेपाली ब्याटिङको एउटा खम्बाका रूपमा रहँदै आएका छन् ऐरी । उनले आफ्नो ब्याटबाट नेपाललाई थुप्रै खेल जिताएका छन् । प्राय चौथो र पाँचौँ नम्बरमा ब्याटिङ गर्ने गरेका ऐरीलाई नयाँ प्रशिक्षक देसाईले ‘फिनिसर’ को नयाँ भूमिका दिए । तर, त्यसयता उनको ब्याट चल्न छोडेको छ ।

परिस्थितिअनुसार आफूलाई ढालेर लामो इनिङ खेल्न सक्ने क्षमताका ब्याट्सम्यान हुन् ऐरी । आवश्यक पर्दा टिकेर खेल्ने र चाहिएको बेला ठूला सट खेल्न सक्ने भएकाले ४ वा ५ नम्बर नै उनलाई सुहाउँदो थियो ।

प्रशिक्षक देसाईले भने उनलाई फिनिसरको भूमिका दिएर ७–८ नम्बरमा खेलाइरहेका छन् । तर यो निर्णयले नेपाललाई ब्याक फायर गरेको छ । दीपेन्द्रले आफ्नो ब्याटिङ फर्म लगातार गुमाउँदै गएका छन् ।