सुदूरपश्चिममा कोरोना सङ्क्रमण घट्दै, प्रदेशभरि ७९ जना सक्रिय सङ्क्रमित

सुदूरपश्चिममा कोरोना सङ्क्रमण घट्दै, प्रदेशभरि ७९ जना सक्रिय सङ्क्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण घट्दैगएको छ । चैत अन्तिमदेखि उकालो लागेको सङ्क्रमण दर वैशाख दोस्रो साताबाट ओरालो लागेको हो । सङ्क्रमण घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशभरि ७९ जना सक्रिय सङ्क्रमित छन् । कैलाली, कञ्चनपुरमा २८–२८ जना, बाजुरामा १३ र बैतडीमा १० जना सक्रिय सङ्क्रमित रहेको निर्देशनालयको तथ्याङ्क छ ।

नयाँ वर्षको नजिक सङ्क्रमण दर उच्च थियो । रोजगारीको सिलसिलामा भारत गएका सुदूरपश्चिमेलीहरु बिसु र नयाँ वर्ष मनाउन स्वदेश फर्कदा सङ्क्रमण बढी देखिएको थियो । अहिले भारतबाट फर्कनेहरुको सङ्ख्या पनि कम छ ।

पछिल्लो एक हप्ताको अवधिमा प्रदेशभरी ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार २७४ जनाको परीक्षण गर्दा तीन जनामा मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितमध्ये एक जनाको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष आइसीयुमा उपचार भइरहेको छ । 

अहिले फाटफुट रुपमा मात्रै कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । उहाँले भारतबाट फर्किनेहरु पनि घटेको बताए।  

सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ५९ हजार ३७२ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ६२ हजार ३९१ जनामा सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो लहरको सङ्क्रमणको क्रममा सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका एक सङ्क्रमितको मृत्यु भएको थियो । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ६३६ पुगेको छ । 

यसैबीच, कैलालीमा पछिल्लो समय ५४ हजार जनाले कोरोनाविरुद्धको पहेलो र दोस्रो बुस्टर डोज खोप लगाएका छन् । फेरि ७० हजार डोज खोप आइरहेको धामीले जानकारी दिए । गोरखापत्रबाट