तेस्रो भजहर कप फुटबल प्रतियोगिता सुरु, गौरीगंगा ११ को विजयी सुरुवात

तेस्रो भजहर कप फुटबल प्रतियोगिता सुरु, गौरीगंगा ११ को विजयी सुरुवात

धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ लोहरपुरमा तेस्रो भजहर कप फुटबल प्रतियोगिता सुरु भएको छ । थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको भजहर कपको तेस्रो संस्करण आजदेखि सुरु भएको हो । 

श्री युवा जनहित क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको कैलारी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा कैलारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष ध्वजबहादुर बोहराले उद्घाटन गरे । पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गौरीगंगा ११ स्पोर्टस क्लब विजयी भएको छ । गदरियाको मसुरीया ११ स्पोर्टस क्लबलाई ३–१ ले हराउँदै गौरीगंगा क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलको प्लेयर अफ द म्याच गौरीगंगा ११ का ललित ऐर भए । उनले नगद एक हजार प्राप्त गरे । 

वैशाख २३ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । 

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिँदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृतिहरू पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।