एएफसी यू–१७ महिला एसियन कपः नेपालले आज जोर्डनसँग खेल्दै

एएफसी यू–१७ महिला एसियन कपः नेपालले आज जोर्डनसँग खेल्दै

काठमाडौँ । एएफसी यू–१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज जोर्डनसँग खेल्दैछ । नेपाल र आयोजक जोर्डनबीचको खेल प्रिन्स मोहमद स्टेडियममा साँझ ६ः४५ बजे सुरु हुनेछ ।

नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले फिलिपिन्सविरुद्ध १–० को हार बेहोरेको छ । छनोटको दोस्रो चरणमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । 

यद्यपि आयोजक जोर्डनविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन । जोर्डन शुक्रबार नेपाललाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गर्ने सोचमा छ ।  

नेपाल, जोर्डन र फिलिपिन्स समूह ‘एच’ मा रहेका छन् । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ । पहिलो चरणको छनोटमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ । 

प्रत्येक समूहको विजेता दोस्रो चरणमा पुग्नेछ । जहाँ ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१७ महिला एसियन कप खेल्नेछन् । 

आयोजक इन्डोनेसियासँगै २०१९ को विजेता जापान, उपविजेता उत्तर कोरिया र तेस्रो भएको चीनले भने सिधै एसियन कपमा स्थान बनाइसकेका छन् ।