मुक्तकमैया पुनर्स्थापनाका  लागि कैलाली–कञ्चनपुरमा एकसाथ अधिकार यात्रा सुरु

मुक्तकमैया पुनर्स्थापनाका  लागि कैलाली–कञ्चनपुरमा एकसाथ अधिकार यात्रा सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका मुक्तकमैयाहरुले आन्दोलन स्वरुप अधिकार यात्रा सुरु गरेका छन् । उनीहरुले मुक्तकमैया, कम्लहरी र बुक्रही पुनर्स्थापनाका लागि अधिकार यात्रा २०८० सुरु गरेका हुन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भगतपुरबाट बिहीबारबाट सुरु भएको अधिकार यात्रा १८ गते कैलालीको अत्तरिया र गेटामा पुगेर समापन हुनेछ । यता कैलालीको टीकापुरबाट पनि यात्रा सुरु गरिएको छ ।  

कञ्चनपुरबाट सुरु भएको यो अभियानमा पहिलो दिन उनीहरुले साइकल यात्रा गरेर अभियानको शुभारम्भ गरेका छन् । 
निःशुल्क शिक्षाको ग्यारेन्टी गर, रोजगारीको व्यवस्था गर, प्राविधिक शिक्षाको ग्यारेन्टी, पुनस्र्थापना कार्यविधि पारित गर, छुट कमैयाको पहिचान गर, मुक्त कमैया बसेको जमिन दर्ता गर, प्रदेश सम्मेलन सफल पारौँलगायत नारा दिइ अधिकार यात्रा सुरु गरेका हुन् ।

कञ्चनपुरमा साइकल यात्राको उद्घाटन सुदूरपश्चिम प्रदेश सांसद तथा पूर्वआर्थिक मामिला मन्त्री प्रकाश रावलले गरेका थिए । यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री रावलले मुक्तकमैया पुनस्र्थापनामा आफूले प्रतिवद्ध भएर लाग्ने आश्वासन दिए । 

‘परिचय पत्रबाट पनि कतिपय वञ्चित भएका छन्’, उनले भने ‘उनीहरूको पनि पहिचान गरी सबैलाई परिचय पत्र दिनुपर्छ ।’

धेरै काम भइसकेका भए पनि अझै केही बाँकी रहेको बताउँदै पूर्व मन्त्री रावलले प्रदेश सरकारले यसको लागि केन्द्रीय सरकारसँग पनि छलफल उल्लेख गरे ।

संविधान सभा सदस्य दुर्गा खुनाले अझै पनि करिब एक हजार जना मुक्तकमैया परिचयपत्र पाउनबाट छुटेको बताइन् । उनले सरकारमा बसेकाहरूले सहयोग गर्नुपर्ने बताइन् । 

सरकारले २०५७ सालमा कमैया, कमलहरिको मुक्तिको घोषणा गरे पनि तर अझै पनि उनीहरूको पुनस्र्थापना हुन नसकेको उनीहरूको गुनासो छ । 

भीमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुरका कलेसी डगौँराले सानै उमेरदेखि कमैया बसेको बताउँछन् । उनले जग्गा प्राप्त भए पनि जग्गा आफ्नो नाम नहुँदा समस्या भएको बताए । उनले अझै पनि रोजगारी नहुँदा ज्याला मजदुरी नै गर्नुपर्ने समस्या रहेको बताए ।

 मुक्त कमैया, कमलरीको न्यायिक पुनस्र्थापनका लागि कार्यविधि बनाइ कार्य अगाडि बढाउन उनीहरुले दबाब कार्यक्रम अघि सारेका हुन् । 

कृषिमा बाधा श्रमिकका रूपमा रहेका कमैया कमलरी मुक्तिको घोषणा भएको २३ वर्ष पुगेको छ । कमैया श्रम ऐन, २०५८ जारी भई नियमावलीसमेत बनाइ लागू गरिएको छ । दुई दशक भन्दा बढी समयबाट पनि यसको पूर्नस्थापना हुन नसकेको उनीहरुकागे गुनासो छ । केही स्थानमा उनीहरुको लागि बासको व्यवस्था गरिएको भए पनि तर रोजगारी नहुँदा तथा खेतीपातीको लागि जमिन नहुँदा समस्या भएको बताएका छन् । 

सुदूरपश्चिम प्रदेशमा १२ हजार ९२४ परिवारको पुनस्र्थापना भएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्याङ्क अनुसार तीन हजार ५ सय ८ जनाको नाम छ तर उनीहरू मध्ये एक हजार १५८ जनाले मात्रै परिचयपत्र पाएको देखिन्छ । कैलाली र कञ्चनपुरमा १२ हजार बढी मुक्त कमैया परिवार पुनः स्थापन हुन बाँकी रहेको उनीहरू बताउँछन् ।

कमैया महिला जागरण कञ्चनपुरका जिल्ला अध्यक्ष बिनादेवी चौधरीले अझै पनि तीन तहकै सरकार आए पनि यो समुदायका माग पुरा हुन नसकेको बताइन् । उनले भनिन् ‘शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था गर्नुपर्छ ।’
मुक्त कमैया समाज कञ्चनपुरका अध्यक्ष घासिराम रानाले मुक्तकमैया लक्षित बजेट अभाव भएको बताए । 

रानाले भने, ‘कतिपयलाई सरकारले जग्गा त दियो तर उनीहरुले त्यसलाई बैंकमा राखेर कारोबार भने गर्न पाउँदैनन् । जसले गर्दा समस्या हुने गरेको छ । बस्तीमा पानीको समेत अभाव छ । रोजगारीको लागि कुनै व्यवस्था छैन ।’
उनले अगाडि थपे, ‘नीतिगत व्यवस्था अनुसार विद्यालय तहमा निःशुल्क शिक्षा कार्यान्वयन हुनुपर्ने हो तर भएको छैन । त्यसका लागि पहल हुनु जरुरी छ ।’