विदेशी खेलाडीको प्रभावमा पुलिसको लगातार दोस्रो जित

विदेशी खेलाडीको प्रभावमा पुलिसको लगातार दोस्रो जित

काठमाडौं । जारी सिजन शहीद स्मारक ए डिभिजन लिगमा खराब सुरुवात गरेपनि विदेशी खेलाडीको आगमनपछि विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

अहमद हिजाजलीले पुलिसबाट लिगमा डेब्यु खेलमै दुई गोल गरेपछि बुधबार दशरथ रंगशालमा पुलिसले खुमलटार एफसीलाई ३(१ ले हरायो । यसअघि मनाङ मर्स्याङ्दी क्लबलाई हराएको पुलिसले जारी लिगमा तेस्रो जित निकालेको हो ।

खेलमा चारै गोल विदेशी खेलाडीको नाममा रह्यो । पुलिसका लागि अर्को गोल मोसेस ट्वामले गरे भने खुमलटारका लागि मेसुके ओलोमोउले एक गोल फर्काए । खेलको २७औं मिनेटमा हिजाजीले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

खुमलटारका मेसुकेले ५४औं मिनेटमा गोल गर्दै खेल १(१ को बराबरीमा ल्याएका थिए । तर अन्त्यतिर पुलिसले दुई गोल गर्‍यो । ८४औं मिनेटमा मोसेसले गोल गर्दै पुलिसलाई २(१ को अग्रता दिलाए । हिजाजीले इन्जुरी टाइमको आठौं मिनेटमा गोल गरेपछि पुलिस ३(१ ले विजयी भयो ।

विदेशी खेलाडीको आगमनपछि लगातार जितले पुलिसको आत्मविश्वास बढाएको छ ।