पत्र पठाएर पन्छियो उपमहानगरपालिका, रोकिएन जथाभावी शूल्क असुल्ने काम

पत्र पठाएर पन्छियो उपमहानगरपालिका, रोकिएन जथाभावी शूल्क असुल्ने काम

धनगढी । धनगढी उपमहानगरपालिकाले स्पष्टिकरण सोधेको नीजि कम्पनी मातृभुमी संरक्षण प्रालिले जथाभावी फोहोर संकलन शूल्क उठाउने क्रम जारी राखेको छ ।

उपमहानगरपालिकाले पटक–पटक जथाभावी शूल्क असुल गरेको गुनासो आएको भन्दै २४ घण्टाभित्र अर्धकट्टीसहित स्पष्टिकरण दिन पत्र काटेको थियो । तर, नीजि कम्पनि मातृभुमि संरक्षण प्रालिले अहिले पनि जथाभावी शूल्क लिइरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।

उपमहानगरपालिकाको आर्थिक ऐन २०७९ मा –‘प्रति भान्सा–परिवार बजार क्षेत्र मासिक एक सय रुपैयाँ, आंसिक बजार मासिक ७५, आवासीय क्षेत्र ५० रुपैयाँ मासिक र विद्यार्थीलाई ५० प्रतिशत छुट रहने’ व्यवस्था छ । कम्पनिले धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने लक्ष्मण श्रेष्ठको घरबाट वैशाख १० गते दुई सय ५० रुपैयाँ लिएको घरधनीले बताए ।

उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाई शाखा प्रमुख अशोक अवस्थीले कम्पनिसंग स्पष्टिकरण सोध्दा बढी शूल्क नलिएको पत्र पठाएको बताए । कम्पनिले बुझाएको पत्रमा –‘फोहोरको मात्रा अनुसार शूल्क लिएको हुँ । नियमविपरित छैन् ।’ उनले कम्पनिलाई अर्धकट्टी माग गर्दा नबुझाएको बताए । उनले भने –‘६० वटामात्र अर्धकट्टी ल्याएपछि सबै ल्याउन भनेको हुँ । अर्धकट्टी हेरेपछिमात्र कारबाही प्रक्रिया अघि बढाइने छ ।’

नीजि कम्पनिले नियमविपरित रकम लिदा समेत उपमहानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा पुनः कम्पनिलाई शूल्क असुल गर्न छुट दिइरहेको स्थानीय बाबुराजा श्रेष्ठले बताए । उनले भने –‘कारबाही गर्नुको सट्टा कर संकलनका नाममा जथाभावी रकम लिइरहेको कम्पनिलाई उपमहानगरपालिकाले छुट दिएको देखिन्छ । यसो गर्दा कम्पनिले आफनो मनोमानी थप बढाउन्छ ।’

नछुट्याएको फोहोर उठ्दैनः उपमहानगरपालिका

धनगढी उपमहानगरपालिकाले अलग–अलग नछुट्याएको फोहोर संकलन नगर्ने बताएको छ । बुधबार सूचना जारी गर्दै वैशाख १७ गतेदेखि उपमहानगरपालिका क्षेत्रभित्रका फोहोरलाई अलग–अलग संकलन गर्ने योजना बनाएको भन्दै नछुट्याएको फोहोर संकलन गरिन जनाएको हो ।

‘धनगढी उपमहानगरपालिकाले नगरपालिका क्षेत्रभित्रबाट उत्पादन हुने फोहोरलाई (कुहिने, नकुहिने, सिसा र हानिकारक) वैशाख १७ गतेदेखि अलग–अलग संकलन गर्ने योजना बनाएको छ’ सूचनामा भनिएको छ –‘फोहोर संकलन गर्न आउने सवारी साधनमा तोकिएको मापदण्ड अनुसार स्रोतमा छुट्याएको फोहोरमात्र दिई सहयोग गर्नुहोला ।’

उपमहानगरपालिकाले माघ १० गतेको कार्यपालिकाको निर्णय अनुसार वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र १३ को फोहोर मैला व्यवस्थापन सेवा शूल्क उठाई उपमहानगरपालिकाको खातामा जम्मा गर्ने कार्यका लागि मातृभुमि संरक्षण प्रलि काठमाडौंसंग सम्झौता गरि चैत ९ गतेदेखि सेवा शूल्क लिन शूरु गरेको थियो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धि खडकाले फोहोर संकलन कार्य भइरहेको तर, शूल्कबारे कार्यपालिका बैठकमा छलफल भईरहेको बताए । उनले भने –‘प्रति घरबाट ५० देखि एक सय रुपैयाँ संकलन गर्नेबारे कार्यपालिका बैठकमा छलफलमै रहेको छ । नीजि कम्पनिले संकलन गरेको भए जानकारी भएन् ।’