प्रदेश २ को नाम र राजधानीसम्बन्धी प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण

प्रदेश २ को नाम र राजधानीसम्बन्धी प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण

प्रदेश २ को नाम र राजधानी म्बन्धी प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।  संवाद तथा सुझाव आयोगका संयोजक डा.हरिवंश झाले  प्रतिवेदन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई बुझाउनु भएकाे हाे ।

प्रदेशको नाम र राजधानीको टुंगो लगाउन २०७५ कार्तिक ११ गते प्रदेश सरकारले डा.हरिवंश झाको नेतृत्वमा  ३ सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको थियो । आयोगले आठवटै जिल्लामा गएर रजानीतिक दलका प्रतिनिधि, पत्रकार, वकिल, बुद्धिजीवी नागरिक समाज तथा सर्वसाधारणसँग प्रदेश २ को नाम र राजधानीको विषयमा सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको हो ।

‘सुझाव संकलन अनुसार प्रतिवेदनमा प्रदेशको नामको रुपमा मधेश, मध्य मधेश, मिथिला, जानकी प्रदेशलगायत आएको छ ’, आयोगका संयोजक झाले भन्नुभयो, ‘राजधानीको रुपमा जनकपुर, वीरगञ्ज, बर्दिबास, राजविराज, सिम्रौनगढलगायतको नाम आएको छ ।’

यद्धपि उहाँले नाम र राजधानी कुनमा बढी जनताको सुझाव छ भन्ने कुरा खोल्न मान्नु भएन । आयोगका संयोजक झाका अनुसार ८ सय प्रश्नावलीमार्फत सुझाव संकलन गरिएको छ । यस कार्यमा आयोगले ३० लाखमध्ये १७ लाख रुपैयाँ खर्च गरेको जनाएको छ ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम र राजधानी छिटो टुंग्याउन आयोगबाट प्राप्त प्रतिवेदन चाँडै प्रक्रियामा बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो प्रतिवेदन अध्ययन गरी हामी चाँडै क्याविनेटमा छलफल गर्छौं । त्यसपछि प्रदेशसभा समितिमा बुझाउछौं  र प्रक्रियागत ढंगले अघि बढाएर टुंगो लगाउछौं ।'

सबैको चासो प्रदेशको नाम र राजधानीप्रति रहेकाले यथाशीघ्र टुंग्याउने उहाँको भनाइ छ । प्रदेशको नाम र राजधानी टुंग्याउन प्रदेशसभाको दुई तिहाई बहुमत चाहिन्छ । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो ।