नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, सन्दीपको अलराउण्ड प्रदर्शन

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, सन्दीपको अलराउण्ड प्रदर्शन

काठमाडौं । स्पिनर सन्दीप लामिछानेको अलराउण्ड प्रदर्शनमा घरेलु टोली एसीसी प्रिमियर कपको समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गर्दै नेपाल समुह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। 

आजै मूलपानी मैदानमा जारी हङकङ र कुवेतबीचको खेलको नतिजापछि मात्र नेपालले अन्तिम चारमा खेल्ने टोलीको टुङ्गो लाग्नेछ।

नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रन बनाउँदा अलआउट भयो। 

जहिर इब्राहिम र खुराम शहजादले बनाएको १५ रन नै कतारका लागि सर्वाधिक रह्यो। अमिर फरुकले १४ रन थपे। 

कतारलाई कम स्कोरमा रोक्न सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए। सन्दीपले ९ ओभरमा ३ मेडन राख्दै मात्र १४ रन दिए। सोमपाल कामीले ३ विकेट झारे। ललित राजवंशीले दुई विकेट आफ्नो नाममा गरे। 

सोमपालले ७ ओभरमा १ मेडन राख्दै २४ रन खर्चे। ललित राजवंशीले ५ ओभरमा २७ रन खर्चे। गुलसन झाले ३ ओभरमा १७ रन दिए। 

त्यसअघि त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०।३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो। 

खराब प्रर्दशन गरेको नेपालका नौ ब्याटर क्याच आउट भए। कतारको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। 

अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित राजवंशीले ४६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। ५७ बलको सामना गरेका सन्दीपले ६ चौका मद्धतमा ४२ रनमा नटआउट रहे। 

सन्दीपले बनाएको ४२ रन नै नेपालका लागि सर्वाधिक रह्यो। सन्दीपले अन्तराष्ट्रिय कुनै पनि प्रतियोगितामा बनाएको यो नै सर्वाधिक रन हो। यसअघि उनले फस्ट क्लास खेलमा एमसीसीविरुद्ध कीर्तिपुर मैदानमा ३९ रन बनाएका थिए। 

कप्तान रोहित पौडेलले २७ रन बनाए। आशिफ शेखले १९ र दिपेन्द्र सिंह ऐरिले १२ रन थपे। सोमपाल कामी र आरिफ शेखले समान ११ रन बनाए। 

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालले पावर प्ले मा नै दुई ब्याटरलाई गुमाउँदै ४६ रन बनाएको थियो। 

२६ बलको सामना गरेका रोहित  लामो सट खेल्ने धुनमा रहँदा ओवाइस अहमदको बलमा क्याच आउट भए। आशिफ २७ बलमा २ चौका मद्दतमा १९ रन बनाउँदा क्याच आउट भए। 

नेपालले ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा मुनाविरको बलमा खुराम सहजादको हातबाट २ रनमा क्याच आउट भए। भिम सार्की ६ रन बनाउँदा मुनाविरको बलमा नै क्याच आउट भए। कुशल मल्ल ३ रनमा क्याच आउट भए। गुलसन झा ७ रनमा क्याच आउट भए। 

कतारका अमिर फरुकले सर्वाधिक ४ विकेट लिए। ओवाइस अहमदले ३ तथा गयन मुनाविरले दुई तथा इक्रमुल्लाह खानले एक विकेट आफ्नो नाममा गरे। -नेपालखबर