दार्चुलामा बाल सुत्केरी बढ्दै

दार्चुलामा बाल सुत्केरी बढ्दै

दार्चुला । दार्चुलामा बाल सुत्केरी बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक अनुसार बिगत तीन वर्षदेखि बाल सुत्केरी बढीरहेको हो ।

चालू आर्थिक वर्षमा मात्रै दार्चुलामा ११ दशमलव ७ प्रतिशत सुत्केरी २० वर्षमुनिका रहेका छन् ।  चालू आर्थिक वर्षमा २ हजार २२ जना सुत्केरी मध्ये २ सय ३६ जना २० वर्ष मुनिका सुत्केरी रहेको स्वास्थ्य कार्यालय दार्चुलाका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए ।

उनका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा स्वास्थ्य संस्थामा सुत्केरी भएका २ हजार ३ सय ५९ महिलामध्ये २ सय ९७ जना २० वर्षमुनिका छन् । जुन कूल संख्याको १२ दशमलव ६ प्रतिशत हुन आउँछ । 

यस्तै आर्थिक वर्ष २०७७÷७८ मा २ हजार ६ सय ९५ सुत्केरी महिलामध्ये ३ सय ३७ जना २० वर्षमुनिका सुत्केरी रहेका छन् । यस वर्ष अघिल्ला वर्षको भन्दा बाल सुत्केरी संख्या बढी हुने देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 
कम उमेरमै विवाह गर्दा बाल सुत्केरी बढ्दै गएको तथ्यांकले देखाएको छ । स्वास्थ्य संस्थामा दर्ता तथ्यांकले १७ वर्षदेखि लिएर २० वर्षसम्मका महिलाहरु आमा बन्ने गरेको पाइएको छ ।

बाल सुत्केरीले प्रजनन सम्बन्धी जटिलता बढ्ने गरेको स्वास्थ्य कार्यालय दार्चुलाका बरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । जिल्लाका महिलाहरुमा अहिले व्यापक रुपमा पाठेघर खस्ने समस्या देखिएको छ । यसले महिलाहरुमा जटिल स्वास्थ्य अवस्था सृजना भएको छ । उनले भने ।