‘हल्कारा’को गीतमा प्रकाश सपुत र देवी घर्तीको आवाज

‘हल्कारा’को गीतमा प्रकाश सपुत र देवी घर्तीको आवाज

बैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हल्कारा’को ‘जीवन कठै बरी’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रकाश सपूत र देवी घर्तीको आवाज रहेको गीतमा गायक सपूतकै शब्द रचना तथा संगीत छ । गीतले वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्शाएको छ । यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक विक्रम सापकोटाले जानकारी दिए ।

गाउँमा चिठ्ठी पुऱ्याउने हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथालाई फिल्मले उठाएको छ । फिल्म पूर्ण रुपमा ‘कमर्शियल’ तथा मनोरञ्जनात्मक कथानक फिल्म रहेको निर्देशक सापकोटाले बताए । फिल्ममा अभिनेता महेश त्रिपाठीले हल्कारा (हुलाकी)को चरित्र निर्वाह गरेका छन् । महेशको अपोजिटमा अभिनेत्री बिनिता थापा मगर प्रस्तुत छिन् ।

कालीपार स्टुडियोले निर्माण गरेको फिल्ममा आइसफल प्रोडक्सनले सहकार्य गरेको छ । फिल्मका लेखक तथा सम्पादक निर्देशक सापकोटा स्वयं हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन छ । महेश र बिनितासँगै शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको पनि अभिनय रहेको छ ।

यो फिल्मले ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभल २०२२’मा सर्वश्रेष्ठ फिल्मको अवार्ड प्राप्त गरेको थियो भने यही फेस्टिभलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड जितेका थिए । हालै फिल्मको टिमले चिठ्ठी लेखन प्रतियोगिता घोषणा गरेको छ । प्रथम हुने चिठ्ठीले ५० हजार, द्वितीय पुरस्कार तीस हजार र तृतीय पुरस्कार २० हजार प्राप्त गर्नेछ ।