पार्टीका जनप्रतिनिधिहरु जनताका पक्षमा काम गर्नुहोसः केन्द्रिय सदस्य वड

पार्टीका जनप्रतिनिधिहरु जनताका पक्षमा काम गर्नुहोसः केन्द्रिय सदस्य वड

धनगढी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वडले नेपाली काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई जनताका पक्षमा काम गर्न निर्देशन दिएका छन् ।

मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर १ को वडा कार्य समितिको आयोजनामा भएको वडा सम्मेलनलाई सम्बोधन गर्दै निर्वाचित भएपछि जनप्रतिनिधिले जनताका पक्षमा भन्दा नेतृत्वको इशारामा काम गरिरहेको पाइएकाले जनप्रतिनिधिलाई सच्चिन निर्देशन दिएका हुन् ।

‘जनप्रतिनिधिले जनताका पक्षमा काम गर्नुपर्छ’ उनले भने –‘अहिले वडाका विभिन्न टोलमा जाँदा जनप्रतिनिधिहरुले जनताको गुनासो नसुन्ने, भेट्न नआउने, समस्या समाधानमा ध्यान नदिएको लगायतका गुनासा आइरहेका छन् । वडा अध्यक्ष तथा वडा सदस्यहरु नगर प्रमुखको इशारामा चलिरहेका छन् । यसैकारण सच्चिन अनुरोध छ ।’ 

उनले जनप्रतिनिधिलाई पार्टीले पनि अभिमुखीकरण, तालिम तथा छलफल गर्न आवश्यक रहेको बताए । उनले आगामी निर्वाचनका लागि पार्टीका विभिन्न संगठनका सबै सदस्यलाई एकीकृत गरेर अघि बढ्न जरुरी रहेको बताए ।

उनले नेपाली काँग्रेसको इतिहास ८० सालदेखि रहेको बताउँदै –‘यति लामो परिवर्तन ल्याउने दललाई गाली गरेर गठन भएका नयाँ दलहरूको न ईतिहास छ न भविष्य देखिन्छ । न उनिहरुको सिद्धान्त छ न त लक्ष्य देखिन्छ ।’

उनले निर्वाचनका क्रममा अन्य दललाई मत हाल्ने व्यक्ति अहिले नेपाली काँग्रेसको हुँ भन्दै शक्ति केन्द्र नजिक भेटघाट गरिरहेको बताए ।