मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल भएका छन्। प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावमा आवश्यक मत पाउन सकेनन्।

सरकार निरन्तरताका लागि पाउनुपर्ने ४४ मध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरेका छन्। उनलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेशसभा सांसदले मात्रै मत दिएका थिए ।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो । प्रदेशसभामा ८७ जना प्रदेशसभा सदस्य रहेका छन् । नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन्। मत विभाजनपछि सभामुख तुलाराम घर्तीले मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न नसकेको संसद्लाई जानकारी गराए।

प्रदेशसभामा नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, नागरिक उन्मुक्ति पार्टी चार, जसपा, लोसपा, जनमत तीन÷तीन, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी एक÷एक, स्वतन्त्र एक गरी ५३ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले सङ्घीयता कार्यान्वयनका लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको बताए। उनले आफ्नो कार्यकालको सय दिनको अवधिमा लुम्बिनी प्रदेश सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए। उनले सङ्घीयता कार्यान्वयनका लागि थप आधार पनि निर्माण गरेकोसमेत बताए।