मलिका महतको फिल्म ‘सतीदेवी’को छायांकन सुरु

मलिका महतको फिल्म ‘सतीदेवी’को छायांकन सुरु

काठमाडौं । अभिनेत्री मलिका महतले आफ्नो प्रतीक्षित फिल्म ‘सतीदेवी’को छायांकन थालेकी छन् । सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा फिल्मको शुभसाइत गरिएसँगै फिल्मको छायांकन सुरु भएको निर्देशक लक्ष्मण सुवेदीले बताए ।

नारीप्रधान यो फिल्ममा मलिकाको शीर्ष भूमिका हुनेछ । उनले सतीदेवी नामक एक महिला चरित्र निर्वाह गर्नेछिन् । बाफलस्थित एक घरमा छायांकन थालेर मंगलबार लमजुङतर्फ जाने कार्यक्रम छ । फिल्ममा भोलाराज सापकोटा, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी लगायतको अभिनय हुनेछ ।

फिल्ममा निर्देशक सुवेदीको पटकथा छ । बाबु श्रेष्ठको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन, देव महर्जनको एक्सन कोरियोग्राफी, दीपक शर्मा र सुभाष भुसालको संगीत कम्पोज रहनेछ । एक महिनामा छायांकन सम्पन्न गर्ने निर्माताको योजना छ । गोल्डेन स्टेट मुभी एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रियसनले फिल्म निर्माण गर्न लागेको हो ।

‘यात्रा’बाट अभिनय करिअर थालेकी मलिकाको यो तेस्रो फिल्म हो । गत वर्ष प्रदर्शन भएको ‘पानीफोटो’ले कमजोर व्यापार गरे पनि उनको अभिनयले प्रशंसा बटुल्यो । म्युजिक भिडियो अभिनयको पृष्ठभूमिबाट फिल्ममा आइपुगेकी मलिकाले सामाजिक कथावस्तुका फिल्ममा काम गर्ने बताएकी छन् ।