एसीसी प्रिमियर कप: ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एसीसी प्रिमियर कप: ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं। एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले आज  ओमानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ रोज्नुभएको हो । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको नेपाल ओमानसँग पनि जित निकाल्ने लक्ष्यमा छ ।

प्रिमियर कपको उपाधि चुम्ने लक्ष्य लिएको नेपालका लागि ओमानसँगको खेल महत्वपूर्ण मानिएको छ । यस खेललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत रहेको छ । आज नेपालले करण केसीलाई मैदानमा उतारेको छ । मलेसियाविरुद्धको खेलमा रहेका गुलशन झालाई आराम दिईएको छ । 

यता पहिलो खेलमा कतारलाई हराएको ओमान पनि नेपाललाई हराएर अगाडि बढ्ने योजनामा छ । दोस्रो जितको खोजीमा रहेको ओमान नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । दुई टोलीबीच यसअघि ६ वटा एकदिवसीय खेल भएका छन् ।

जसमा ओमानले चार र नेपालले दुई खेल जितेको छ । पछिल्लो पटक दुई टोलीबीच आइसीसी विश्वकप लिग(२ सिरिज अन्तर्गत सन् २०२२ को जुनमा प्रतिस्पर्धा भएको थियो । अमेरिकामा खेलिएको यस सिरिजको पहिलो र दोस्रो  दुवै खेल नेपालले जितेको थियो । 

ओमान र नेपालबीचको आजको खेल नेपालका लागि ५०औं एकदिवसीय खेल पनि हो । आजको खेलमा नेपालका स्पीनर सन्दीप लामिछानेका लागि पनि विशेष महत्व रहेको छ । 

आजको खेलमा विकट लिएमा सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान बनाउनुहुनेछ । सन्दीप यस कीर्तिमानबाट एक विकेटमात्र टाढा हुनुहुन्छ ।

उहाँले ४१ एकदिवसीय खेल्दै ९९ विकेट लिनुभएको छ । एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेल खेल्दै सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ ।

खानले ४४ एकदिवसीय खेल्दै एक सय विकेट पूरा गर्नुभएको थियो । खानले सन् २०१८ मा बनाएको कीर्तिमान तोड्न सन्दीपले आज एक विकेट लिएमात्र प्रयाप्त छ । 

एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।

यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । 

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।