प्रदेश नम्बर ७ को सडक सुरक्षामा गम्भीर चुनौती

प्रदेश नम्बर ७ को सडक सुरक्षामा गम्भीर चुनौती

धनगढीः प्रदेश नम्बर ७ मा सडक असुरक्षित बन्दै गएकाे देखिएको छ। सवारी साधानहरुको प्रयोग कर्ता बढेसँगै सडक सुरक्षामा समेत चुनौती थपिएको छ। 

यता कैलालीमा सडक दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या पनि बर्षेनी बढ्दो क्रममा छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार गत दुई वर्षको अवधिमा मात्र कैलालीका १ सय ३२ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। 

आर्थिक वर्ष २०७३/७४ मा ६२ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको थिए। तर गत आर्थिक वर्ष २०७४/७५ मा यो संख्या बढेर ७० पुगेको छ। आर्थिक वर्ष २०७४/७५ मा ८९ सवारी दुर्घटनामा परेर पुरुष ५४ जना, महिला १३, र ३ जना बालबालिकाले ज्यान गुमाएको  जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रहरी निरीक्षक अनिल कुमार उप्रेतीले जानकारी दिए। 

कैलालीमा राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटनामा धेरै मानिसले ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीले जनाएको छ। कतिपय सडकको अवस्था नाजुक हुँदा समेत सवारी दुर्घटना बढेका छन्।

त्यस्तै यहाँका बजार क्षेत्रका सडकहरू पनि अस्तव्यस्त बनेका छन्। साँघुरो सडक बढ्दो सवारी साधनका प्रयोग कर्ता बिचमा सन्तुलन मिल्न नसक्दा सडक सुरक्षामा चुनौती थपिएको छ।

यसमा पनि विशेष गरी सवारीचालकहरुले ट्राफिक नियमको पूर्ण पालना नगर्दा सडक असुरक्षित बढेको प्रहरी निरीक्षक उप्रेतीको भनाई छ। 

जिल्लामा सवारी दुर्घटना मात्र बढेका छैनन्। यहाँ ट्राफिक नियम उल्लघंनकर्ताको संख्यामा पनि वृद्धि भइरहेको छ। 

ट्राफिक कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा १९ हजार ८० जना उल्लघंनकर्ताबाट १ करोड १० लाख १४ हजार ५ सय रुपै“या जरिवाना रकम संकलन गरेको थियो। 

तर,  गत आर्थिक वर्षमा भने, उल्लघंनकर्ताको संख्यामा बृद्धिभएर २३ हजार ६ सय ३८ पुगेको छ। जसबाट १ करोड ३८ लाख ७१ रुपैँया जरिवाना रकम संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

चालु आर्थिक वर्षको १ महिनामा भने, १ हजार ६ सय ६३ उल्लघंनकर्ताबाट ९ लाख ८५ हजार ५ सय रुपैँया जरिवाना रकम संकलन गरी सकेको छ।