ज्याला नपाएका श्रमिकहरु पुल बन्द गर्दै

ज्याला नपाएका श्रमिकहरु पुल बन्द गर्दै

दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिकामा निर्माण सम्पन्न भएको थल सिलङचौरा बहुउद्देश्यीय झोलुङ्गे पुल भोली देखि अनिश्चित समयका लागि वन्द हुने भएको छ । निर्माण कार्य सम्पन्न भएको दुई बर्ष बढी वितिसक्दा समेत श्रमिकहरुले अहिलेसम्म ज्याला नपाएको भन्दै पुल वन्द गर्न लागेका हुन् ।

निर्माणको जिम्मेवारी पाएको जगदम्बा दोभान कन्सट्रक्सनले श्रमिकहरुको ज्याला अझै सम्म दिएको छैन । ठेकेदार कम्पनिले धादिङ घर भएका २८ बर्षिय शरोज चेपाङलाई पुल निर्माणको जिम्मेवारी पेटीमा दिएको वुझिएको छ ।

जगदम्बा दोभान कन्सट्रक्सनका संचालकले पेटी ठेकेदार चेपाङलाई सम्झौता अनुसारको रकम भुक्तानि गरिसकेको बताउँदै आएका छन । यता पेटी ठेकेदार चेपाङले आफुलाई काम गर्दा गर्दै सम्झौता भएको रकममा काम सम्पन्न नहुने सम्भावना देखिएपछि आधी काममै छोडी अर्को साईड जान लाग्दा ठेकेदार कम्पनिले घाटा नहुने गरी म भुक्तानी दिन्छु भनी मौखिक फोन सम्पर्ककै आधारमा काम गरेको वताउदै आएका छन । काम गदैै गर्दा सम्झौता भन्दा पनि केहि रकम बढी भएको र बढी भएको रकम आफुलाई अहिले सम्म पनि निर्माण कम्पनिले नदिएको र कम्पनिले दिने वितिकै आफुले दिनु पर्ने सबै रकम दिने बताउदै आएका छन ।

पेटी ठेकेदारले आफ्ना श्रमिकहरुलाई स्थानीय पसलबाट उधारो निकालेर खुवाएको राशनको समेत पैसा दिएका छैनन । एउटै पसलबाट ४ लाख बढीको राशन उधारो निकाली खुवाएका पेटी ठेकेदार चेपाङ अहिले पसल साहुँहरुको सम्पर्कमा त छन तर भोली पर्सी भन्दै टारिरहेको पसल धनी रमेश जोशीले जानकारी दिए । त्यस्तै ट्याक्टर ब्यवसायीहरुले पनि अझै सम्म ढुवानी वाफतको भुक्तानी पाउनु पर्ने रकम नपाएको गुनासो गरेका छन । ट्याक्टर ब्यवसायी बिरेन्द्र सिह धामीका अनुसार आफुले पुल निर्माण सामग्री ढुवानी वाफत ३ लाख बढी रकम पाउनु पर्ने वताए । गाउँपालिकाको न्याँयिक समिति र जिल्ला प्रशासनमा हार गुहार गरिसक्यौ, गाउँपालिका र प्रशासनले ताकेता गर्दा समेत ठेकेदार कम्पनि सम्पर्कमा आएको छैन उनले भने । पुन वन्द गर्नुबाहेकको कुनै विकल्प नभएको धामी वताउँछन् ।

श्रमिक, ट्रयाक्टर ब्यवसायी र पसल धनिहरुले न्याँयको लागि स्थानिय सरकार दुहुँ गाउँपालिकाको न्यायिक समिति जिल्ला प्रशासन कार्यालय दार्चुलामा समेत पटक पटक निवेदन दर्ता समेत गराइ सकेका छन । गाउँपालिकाको वडा नम्वर १,२ र ५ का स्थानियले उक्त पुल निर्माणको समयमा ज्याला मजदुरी गरेका थिए ।

यस बिषयमा दार्चुला प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई वुझदा पिडितहरुको जिल्ला प्रशासन कार्यालयमा निवेदन पुगेको र ठेकेदार कम्पनिलाई सम्पर्कमा ल्याउने प्रयास भईरहेको जानकारी दिए । श्रमिकहरुले श्रम गरेवाफतको रकम पाउनु पर्ने र स्थानियहरुले सार्वजनिक पुल वन्द गर्न नहुने उनी बताउँछन् ।

ठेकेदार कम्पनिले अन्तिम चरणको भुक्तानी समेत पालिकाबाट नलिएको वुझिएको छ । प्राविधिक मुल्याङकनका आधारमा बाकी रकम भुक्तानी हुने गाउँपालिकाले जनाएको छ । लोड टेस्ट लगायत ठेकेदार कम्पनिले गर्नु पर्ने काम पनि अझै बाकि रहेको गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले वताए । झोलुङ्गे पुलको उनगाई केवल (साईडको लठ्ठा) समेत निर्माण सम्पन्न भएको छ महिनामै तल खसेको छ । यसबारे कसैले पनि चासो देखाएको छैन ।