भारतबाट फर्किने नेपालीमा देखिन थाल्यो कोरोना संक्रमण

भारतबाट फर्किने नेपालीमा देखिन थाल्यो कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोेभिड सम्पर्क व्यक्ति हेमराज जोशीले सीमानाकामा कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि हुने क्रम दुई सातायता बढ्दै गइरहेको बताए ।

कञ्चनपुरको गड्डाचौकी नाका, कैलालीको त्रिनगर र खक्रौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट फर्किनेको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको उनले जानकारी दिए ।  प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा पीसीआर विधिमा तीन र एन्टिजेनमा २७ गरी ३० जनामा सङ्क्रमण देखिएको छ ।

बुधबार  चार सय ११ जनालाई एन्टिजेन र २२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमध्ये कञ्चनपुरका मात्रै बुधबार १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तका अनुसार गड्डाचौकीमा चार, बेलौरीमा चार र दोधारा चाँदनी र कृष्णपुर नगरपालिकामा एक(एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी, कैलालीको धनगढीस्थित त्रिनगर हेल्थ डेस्कमा परीक्षण गर्दा तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति जोशीले जानकारी दिए । बुधबार मात्रै सिमाना गड्डाचौकीमा दुई सय आठ, बैतडीको झुलाघाटमा १९, टीकापुर खक्रौला नाकामा ४२, त्रिनगर भन्सारमा एक सय ९७ र दार्चुलाको पुलघाटमा नौ जनाको कोरोना परीक्षण गरिएको थियो । 

“कोभिडको खोप लगाएका छौँ भनेर मात्रै पुग्दैन”, जोशीले भने, “स्वास्थ्य मापदण्डको पनि ख्याल गर्दै स्वास्थ्यप्रति सजग रहन आवश्यक छ ।” उनले सीमानाकामा एन्टिजेन र प्रादेशिक एवं जिल्ला अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको जानकारी दिए ।