एसिया कपः नेपाली टिम उत्साहित

एसिया कपः नेपाली टिम उत्साहित

काठमाडौं । भारत, पाकिस्तानजस्ता देशसँग खेल्ने लक्ष्यसहित नेपाल क्रिकेट टिमले एसीसी प्रिमियर कपको तयारीलाई अन्तिम रुप दिएको छ । भोलि मंगलबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मलेसियासँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ ।

एसियाका शीर्ष १० एशोसिएट टिमबीच कीर्तिपुर र मूलपानी मैदानमा अबको १५ दिन प्रतिस्पर्धा चल्नेछ । सहभागी टिमलाई दुई समूहमा बाँडिदा नेपाल समूह ए मा छ । नेपालले मलेसियासँगै ओमान, साउदी अरव र कतारसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । समूह बी मा यूएई, हङकङ, सिंगापुर, बहराइन र कुवेत छन् ।

गत फागुन–चैतमा आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम तीन शृंखलामा अभूतपूर्व प्रदर्शन गरी एकदिवसीय मान्यता जोगाउनुका साथै विश्वकप छनोटमा स्थान बनाएको नेपाली टोली प्रतियोगितालाई लिएर निकै उत्साहित छ ।

लिग टूको अन्तिम तीन शृंखलाअघि नेपाल टिमको प्रमुख प्रशिक्षक बनेका मोन्टी देशाईले यसपल्ट टिमको कमजोरीमा पनि विशेष ध्यान दिने समय पाएका छन् । यो प्रतियोगिताका लागि आइतबार घोषित नेपाल टिममा लिग टूकै खेलाडीले निरन्तरता पाएका छन् ।