यो बर्ष पुग्यो दार्चुलामा सयममै पाठ्यपुस्तक

यो बर्ष पुग्यो  दार्चुलामा सयममै पाठ्यपुस्तक

दार्चुला । सयममै पाठ्यपुस्तक नपुग्ने हिलामी जिल्ला दार्चुलामा यस वर्ष शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक जिल्ला भित्रिएका छन् ।

सरकारले हिमाली र दुर्गम जिल्लालाई प्राथमिकता राखी पुस्तक वितरण गरेपछि समयमै पाठ्यपुस्तक जिल्ला भित्रिएका हुन् । विगतका वर्षहरुमा सुनिने पुस्तक अभावको गुनासोे यस वर्ष सम्बोधन हुने अपेक्षा गरिएको छ ।

सरकारको प्राथमिकता अनुसार समयमै हिमाली र दुर्गम जिल्लामा पाठ्यपुस्तक उपलब्ध गराइ रहेको जनक शिक्षा सामग्री केन्द्र, सुदूरपश्चिम प्रदेश धनगढी शाखाका प्रमुख ध्रुबराज पन्तले बताए ।  

दार्चुलामा जिल्लाभरी करिब २३ हजार पाठ्यपुस्तक आवश्यक पर्ने देखिएको छ । विद्यार्थी भर्ना अभियानको समय अवधिमै जिल्लाका सम्पूर्ण विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिसक्ने शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले बताए ।

पाठ्यपुस्तक जिल्ला पुगिसकेको र सम्बन्धित स्थानीय तहमा ढुवानी भइरहेको उनले बताए । ९ वटै पालिकाका सामुदायिक विद्यालयहरुले विद्यार्थीको भर्ना लिदै पुस्तक वितरण गर्नेछन् ।