एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा

एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा

काठमाण्डौँ। नेपाल क्रिकेट सङ्घ क्यानले एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । आउँदो मङ्गलवारदेखि हुने प्रतियोगिताका लागि क्यानले आइतवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

प्रतियोगितामा नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । टोलीमा पौडेलसँगै कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी रहेका छन् । यस्तै अर्जुन साउद सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतोलाई रिजर्भ खेलाडीमा राखिएको छ ।

एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् । समूह बी मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मुलपानीमा खेल्नेछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्दै सुरुवात गर्नेछ ।