तेस्रो पटक थपियो सुझाव समितिको म्याद, संयोजक भन्छन्ः अझै समय पुगेन

तेस्रो पटक थपियो सुझाव समितिको म्याद, संयोजक भन्छन्ः अझै समय पुगेन

धनगढीः प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गरी प्रतिवेदन तयार गर्नका लागि गठन गरिएको विशेष समितिको म्याद तेस्रो पटक थप गरिएको छ। 

यसअघि दुई पटक थपिएको समयमा पनि प्रतिवेदन तयार गर्न असफल समितिको तेस्रो पटक म्याद थप गरिएको हो। 

‘दोस्रो पटक थपिएको म्याद शनिवार सकिएको छ।’ प्रदेश सभा सचिवालयका कानुन अधिकृत तेज प्रकाश जोशीले भने, ‘पाँच दिनका लागि म्याद गर्नका लागि निवेदन आएको थियो। तर, सभामुखले तिन दिन थप गरिदिनु भएको छ।’ 

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश नाम र राजधानीबारे राय सुझाव लिने कार्य अन्तिम चरणमा रहेको, केही प्राविधिक विषयमा जानकारी लिनुपर्ने र रायसुझावलाई लिपिबद्ध पार्ने कार्य भइरहेको भन्दै समितिले म्याद थपका लागि निवेदन दिएको थियो। 

प्रदेशको नाम र राजधानी तोक्ने विषयमा साउन १४ गते प्रदेश सभा बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा पाँच सदस्यीय विशेष समिति बनाएको थियो। 

समितिको सदस्यमा प्रदेश सांसद प्रेमप्रकाश भट्ट, बलदेव रेग्मी, श्यामलाल राना र चुनकुमारी चौधरीलाई राखिएको थियो। समितिमा रहेका राना नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद हुन भने अन्य सबै नेकपाबाट निर्वाचित सांसद हुन। 

उक्त समितिलाई एक हप्ता अर्थात् साउन २१ गते बस्ने प्रदेश सभा बैठकमा नाम र राजधानीबारे सुझाव संकलन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो। 

तर, पहिलो पटकको समयमा प्रतिवेदन बुझाउन नसकेपछि प्रदेश सभा बैठकले नै थप पाँच दिन समितिको म्याद थप्ने निर्णय गरेको थियो। 
पहिलो पटक थपिएको सात दिनको समयमा पनि समिति प्रतिवेदन बुझाउन असफल भएपछि पुनः पाँच दिनको समितिलाई समय दिइएको थियो। 

दोस्रो पटक थपिएको समय पनि शनिवार सकिएको छ। तर, समितिले प्रतिवेदन बुझाउन सकेन। 

दोस्रो पटक थपिएको मितिमा पनि प्रतिवेदन बुझाउन असफल समितिले पाँच दिन थप समय माग गरे पनि सभामुख अर्जुन बहादुर थापाले भने तिन दिनको मात्रै समय दिएका छन्। 

उक्त समितिले अव भदौ ५ गते सभामुखलाई प्रतिवेदन बुझाउनुपर्ने छ। प्रदेश सभा बैठक भने भदौ ६ गते बस्ने छ। 

संयोजक भन्छन्ः अझै समय पुगेन
दुई पटक थपिएको समयमा समेत प्रदेश नाम र राजधानीबारे सुझाव संकलन गरी प्रतिवेदन तयार पार्न नसकेको समितिले समय अभावका कारण ढिलाइ भइरहेको जनाएको छ। 

समितिका संयोजक तामाङले भने, ‘प्रदेश राजधानी र नामाकरण सामान्य विषय हैन, त्यसैले समय लागेको हो।’

उनले नाम र राजधानीका विषयमा सुझाव संकलन गर्ने कार्य सकिएको जानकारी दिए। 

‘नाम र राजधानीबारे सुझाव लिने काम सकेका छौ। अव समिति भित्रै छलफल गरिरहेका छौ। सम्भवतः तेस्रो पटक थपिएको समयमा प्रतिवेदन बुझाउँछौ।’ उनले भने, ‘सबैको भावना समेटिने गरी प्रदेशको नाम र राजधानीबारे प्रतिवेदन बुझाउँछौ।’

समितिले प्रदेशको नाम र राजधानीबारे सुझाव संकलन गरी प्रतिवेदन बुझाउन ढिलाइ गरिरहेको भन्दै समितिको औचित्यतामाथि प्रश्न गर्न थालिएको छ।