ओमानसँगको अभ्यास खेलमा नेपाल  विजयी

ओमानसँगको अभ्यास खेलमा नेपाल  विजयी

काठमाण्डौ । ओमानसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।  त्रिवी मैदान कीर्तिपुरमा ओमानले दिएको २ सय ४७ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो ।

नेपालका लागि अर्जुन साउदले ६७, दिपेन्द्रसिंह ऐरीले ५९ र रोहित पौडेलले रिटायर्ट हर्ट हुँदै ५८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले १५, देव खनालले २, कुशल मल्लले ८, सन्दीप जोराले ११ र भीम सार्कीले १ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको ओमानको लागि शोहिब खानले सर्वाधिक ८९ र कश्यप प्रजापतिले ४२ रन बनाए । नेपालका किशो महतोले ३ तथा प्रतिश जिसी र  सूर्य तामाङले २र२ विकेट लिए । श्याम ढकाल र कुशल मल्लले १र१ विकेट लिए ।  एसीसी प्रिमियर कप अघि नेपालले ओमानसँग अभ्यास खेल खेलेको हो ।

यो अभ्यास खेल भएकाले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । एसीसी प्रिमियर कप मंगलबार वैशाख ५ देखि १८ गतेसम्म कीर्तिपुर र मुलपानी मैदानमा हुँदैछ । समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मुलपानीमा खेल्नेछ ।

नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ । नेपालले मुलपानीमा साउदी अरबसँग वैशाख ११ गते मुलपानीमा खेल्नेछ । त्यस्तै वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ ।