आगलागी नियन्त्रणको पूर्वतयारीमा चुक्दै पालिकाहरू

आगलागी नियन्त्रणको पूर्वतयारीमा चुक्दै पालिकाहरू

अछाम । गत सोमबार सदरमुकाम मंगलसेनमा स्थानीय मिना ढुंगानाको एक घर आगोले जलेर पूर्णरूपमा नष्ट भयो । नगरपालिकाको कार्यालयबाट करिब २ सय मिटर दूरीमा आगलागी हुँदा पनि दमकल भने आगो निभाउनमा प्रयोग हुन सकेन ।

नेपाली सेना, प्रहरी र स्थानीयले लामो समयपछि आगो नियन्त्रणमा त लिए तर क्षति हुनबाट जोगाउन सकेनन् । सदरमुकामभित्रैको घरमा आगो लाग्दा पनि स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समितिले आगो नियन्त्रण गर्ने पूर्व तयारी केही नगर्दा धेरै क्षति भएको स्थानीय बताउँछन् ।

‘हाम्रो घरभन्दा २ सय मिटर नजिक दमकल राखिएको छ, नगरपालिकाको कार्यालय छ । यति नजिक हुँदा पनि दमकल प्रयोगमा आउँदैन भने नगरपालिकाबाट हामीले के आशा गर्ने’ आगलागीबाट पीडित कलावती ढुंगानाले भनिन्, ‘के कारणले दमकल आएन हामीले अहिलेसम्म थाहा पाएका छैनौं ।’

मंगलसेन नगरपालिकाले भने दमकललाई लैजान खोज्दा स्टार्ट नै नभएको बताएको छ । मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहराले दमकलको अवस्था हेरेर तयारी अवस्थामा राख्न नसक्नु कमजोरी भएको बताए । ‘आगलागी भएको खबर पाउने बित्तिकै आगो नियन्त्रणमा लिनका लागि दमकल घटनास्थलमा लैजान धेरै प्रयास गरिएको हो । तर दमकल स्टार्ट नै भएन । यसका लागि हामी क्षमा प्राथी छौं’ उनले भने , ‘दमकलको परीक्षण गर्दा ब्याट्री , पिटियो गेयर र प्रेसर बिग्रेको पाइयो । दमकलमा समस्या रहेको थाहा पाउने बित्तीकै मर्मतका लागि धनगढी पठाइसकेका छौं ।’ विपदको पूर्वतयारीमा नगरपालिका चुकेको उनको भनाइ छ ।

जिल्लाका अन्य स्थानीय तहले पनि आगलागी नियन्त्रणका लागि पूर्वतयारी गरेको पाइँदैन । तीन साताअघि पञ्चदेवल विनायक नगरपालिका– ८ का २१ वर्षीय हेमराज रोक्का मगर र १९ वर्षीय प्रेम रोक्का मगर आगलागीमा परी जलेर घाइते भए । पुल्लेतोलाको जोगी बसाले भन्ने ठाउँमा काठ चिर्नलाई गएका दुई जना युवकको असावधानिका कारण आगलागी भयो । पंचदेवल बिनायक नगरपालिकाकी प्रमुख अम्बिका चलाउनेका अनुसार एक जना गम्भिर घाइते भएका छन् भने अर्काको अवस्था खतरामुक्त छ ।

‘उनीहरू काठ चिर्ने काम गर्ने रहेछन् । उनीहरूको साथमा पेटोल पनि थियो । पेटोल उनीहर बस्ने ठाउँमा पोखिएको रहेछ । चुरोट निभाउने बेला एक्कासि आगो सल्कियो’ उनले भनिन्, ‘बिहीबार राति ११ बजेको घटना हामीले शुक्रबार बिहान मात्रै थाहा पायौं ।’ उनका अनुसार आगलागी भएको गाउँमा सडक पुग्न सकेको छैन । बोकेर पुल्लेतोलाको गाउँसम्म र त्यहाँबाट गाडीमा विनायकसम्म पुयार्‍इयो । लामो समयको प्रयासपछि उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको उनले बताइन् । सुर्खेतमा पनि उपचार सम्भव नभएपछि हेमराजलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिए पनि बचाउन सकिएन ।

पञ्चदेवल विनायक नगरपालिका भए पनि बजार क्षेत्रभन्दा धेरै गाउँ भएकाले आगो लागि हाले निभाउने र क्षति कम गर्ने विकल्प नगरसँग नभएको नगरप्रमुख चलाउनेले बताइन् । ‘नगरपालिका भए पनि यहाँ धेरै गाउँ क्षेत्र पर्छ । कति गाउँ अहिलेसम्म सडकको पहुँचमा छैनन्,’ उनले भनिन्, ‘दमकल किनेर पनि यहाँ खासै प्रयोगमा आउन सक्ने भौगलिक अवस्था छैन ।’ आगलागीका घटना भइहालेको अवस्थामा पनि उद्धारमा समस्या हुँदै आएको उनले बताइन् ।