सुदूरपश्चिमको बैद्यनाथमा एपीएफ फिल्ड अस्पताल सञ्चालन

सुदूरपश्चिमको बैद्यनाथमा एपीएफ फिल्ड अस्पताल सञ्चालन

धनगढी । सुदूरपश्चिमको बैद्यनाथ बाहिनीमा निर्माण भएको सशस्त्रको एपीएफ फिल्ड अस्पताल सञ्चालनमा आएको छ।  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त अस्पताल उद्घाटन गरेका हुन्। 

एपीएफले सातै प्रदेशमा स्कुल र अस्पताल स्थापना गर्ने लक्ष्य अनुसार उक्त अस्पताल निर्माण गरिएको जानकारी दिइएको छ।

महानिरीक्षक अर्यालले संगठनले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको लागि विभिन्न किसिमका कल्याणकारी कार्य एवं वृत्तिविकासमा विशेष ध्यानदिँदै कार्य गरिरहेको बताउँदै सशस्त्र प्रहरी कर्मचारीहरु अनुशासित, इमान्दार र पूर्ण व्यावसायीक भई प्राप्त जिम्मेवारी त्रुटिरहित ढंगबाट पूरा गर्न निर्देशन दिए। 

कैलाली जिल्लाको गोदावरी नगरपालिका १ स्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको परिसरभित्र १५ शय्याको फिल्ड अस्पताल निर्माण भएको हो।

अस्पतालको निर्माण र सञ्चालनले सो क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल, नेपालका बहालवाला तथा अवकाश प्राप्त कर्मचारीहरु र उनीहरुको परिवारका साथसाथै स्थानीय नागरिकहरुलाई समेत औषधि उपचारमा सहजता हुनेछ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेलगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, बिल्लादार जवान तथा स्थानीयको सहभागिता रहेको थियो।