स्थानीय तहबाटै श्रम स्वीकृति दिने

स्थानीय तहबाटै श्रम स्वीकृति दिने

काठमाडौँ । सरकारले आगामी वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट भर्न सकिने व्यवस्था गरेको छ । वैशाख १/२ गते सार्वजनिक बिदा परेकाले ३ गतेबाट स्थानीय पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत अनलाइन आवेदनको सेवा लिन सकिनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको महिना मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गर्ने निर्णय थियो ।

श्रम मन्त्रालयको उक्त निर्णयअनुसार २०८० वैशाख ३ गतेबाट पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिन थालिएको हो ।

श्रम मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार महाशाखाका प्रमुख राजीव पोखरेलले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित र ठगीरहित बनाउनका लागि श्रमिकलाई आवेदन भर्दादेखि नै सहयोगको आवश्यकता पर्ने भएकाले यो व्यवस्था गरिएको जानकारी दिए ।

जान्नेले त आफ्नै मोबाइलबाट भर्न सकिन्छ तर नजान्नेले आफ्नै पालिकामा रहेका रोजगार सेवा केन्द्रका रोजगार संयोजकको सहयोगमा निःशुल्क आवेदन भर्न सकिने व्यवस्था गरिएको पनि उनले जानकारी दिए।