बैतडी समाज कैलालीको प्रथम भेलाः सस्कृतीको जर्गेना गरे समृद्धि सम्भव छ!

बैतडी समाज कैलालीको प्रथम भेलाः सस्कृतीको जर्गेना गरे समृद्धि सम्भव छ!

धनगढीः बैतडी समाज कैलालीले पर्यटन व्यवसायी मायाप्रकाश भट्टको संयोजकत्वमा तदर्थ समितिलाई अनुमोदन गरेको छ। शनिबार धनगढीमा सम्पन्न भएको समितिको प्रथम भेलाले १३ सदस्यीय तदर्थ समितिलाई अनुमोदन गरेको छ। 

समितिको उपाध्यक्षमा गजेन्द्रविर चन्द, कोषाध्यक्षमा लोकराज भट्ट र सचिवमा हर्क बहादुर चन्द रहेका छन्। यस्तै समितिको सदस्यमा केशव पाण्डे, योगेन्द्र बहादुर चन्द, जयसिंह ठगुन्ना, लिलाधर शर्मा, पुष्करराज भाट, वासुदेव कलौनी, भीम बहादुर चन्द, केशव चन्द र नवराज विष्ट रहेका छन्। 

यो पुर्ख्यौली घर बैतडी भई हाल कैलाली बसोबास गर्दै आएका व्यक्तिहरूको समाज हो। यो समाजले बैतडीको संस्कृतिलाई जगेर्ना गर्नका लागी विशेष भूमिका खेल्ने बताइएको छ।

प्रथम भेलालाई सम्बोधनका क्रममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले नयाँ पुस्ताले पुराना परमपरा र संस्कृतिलाई बिर्सँदै गएकोले यसको बचाउ अभियानको थालनी गरिनु पर्ने बताइन। उनले कम्जोर नेतृत्वको कारण प्रदेश नम्बर ७ पछाडि परेको समेत बताइन्। 

प्राकृतीक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रमा ७ नम्बर प्रदेश प्रचुर सम्भावना बोकेको क्षेत्र भए पनि कम्जोर नेतृृत्वका कारण पछाडि परेको उनले बताइन। यो प्रदेश प्राकृतीक स्रोत साधनको भण्डारका रूपमा रहे पनि यसको सदुपयोग गर्न नसक्दा यहाँको आर्थिक विकास हुन नसकेको भनाई मन्त्री भट्टको थियो। 

उनले यहाँको आर्थिक समृद्धिका लागि धार्मिक, सामाजिक, सास्कृती र प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गरी विकास गर्न सक्ने नेतृत्व यस प्रदेशले खोज्दै आएको उल्लेख गरिन्। 

७ नम्बर प्रदेश सरकार गठन भएपछि अब सुदुरपश्चिमले समग्र विकासका लागि नेतृत्व पाएको उल्लेख गर्दै मन्त्री भट्टले प्रदेश सरकारले यहाँको विकास र आर्थिक समृृद्धीका लागि जनतासँग समन्वय गरेर काम गर्ने बताइन्। 

कार्यक्रममा बैतडीबाट निर्वाचित सांसदहरूको सहभागिता समेत रहेको थियो। यस जिल्लाबाट निर्वाचित सांसद लिलाधर भट्ट र प्रेम प्रकाश भट्टले यस प्रदेशका पुराना सामाजिक, सास्कृती, परम्पराहरू लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गरे।

नयाँ पुस्ताले पुराना सामाजिक सांस्कृतिक मूल्यमान्यताको संरक्षण गर्न लाग्नु पर्नेमा जोड दिए। यहाँका सकृती र परम्पराहरू ७ नम्बर प्रदेशको आर्थिक समृतीका आधार भएकोले यसको संरक्षणका लागि प्रदेश सरकारले समेत भूमिका खेल्नु पर्ने सांसद लिलाधर भट्टले बताए। 

फरक भाषा, फरक संस्कृति तथा देवी देवताका मठ मन्दिरको खानी बैतडी जिल्लालाई विश्वमै चिनाउन सबैको पहल आवश्यक रहेको कार्यक्रमका सहभागीको भनाई रहेको छ।