अमेरिकन आइडल टिमबाट ज्यान मार्ने धम्की आयो : अर्थर गन

अमेरिकन आइडल टिमबाट ज्यान मार्ने धम्की आयो : अर्थर गन

काठमाडौं । अमेरिकन आइडलका प्रतिस्पर्धी नेपालीमूलका दिवेश पोखरेल अर्थात् अर्थर गनले अमेरिकन आइडलले आफूविरुद्ध रंगभेदी व्यवहार गरेको आरोप लगाएका छन् । साथै आफूलाई ज्यान मार्ने धम्की समेत दिएको उनको आरोप छ ।

सोमबार फेसबुक स्टोरीमा उनले अमेरिकन आइडललाई गाली गर्दै आफ्नो ठाउँमा बस्न चेतावनी समेत दिएका छन् । अमेरिकन आइडललाई जनावरको संज्ञा दिंदै दिवेशले आफ्नो नांगो खुट्टामा उभिन समेत नसुहाउने भन्दै टिप्पणी गरेका छन् ।

अमेरिकन आइडलको १८ औं संस्करणका रनरअप रहेका दिवेशले १९ औं संस्करणमा भाग लिएका थिए तर उनको नाम अन्तिम सातअघि नै हटाइएको थियो । यसप्रति उनले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । यो कुरालाई लिएर विवाद भएपछि वातावरण खराब बनेको भन्दै उनी कार्यक्रमस्थलबाटै बाहिरिएका थिए ।

यो घटनापछि दिवेशका फ्यानले अमेरिकन आइडलले उनीविरुद्ध पक्षपातपूर्ण व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले फेसबुक स्टोरीमार्फत ज्यान मार्ने धम्की दिएको उल्लेख त गरेका छन् तर धम्की दिने व्यक्तिको नाम खुलाएका छैनन् ।

यस वर्षको मध्यतिर नेपाल आएका दिवेशले सातै प्रदेशका ठूला सहरमा कन्सर्ट गरेका थिए । अमेरिका जानुअघि उनले ग्रहण र खोज नामक दुई एल्बम सार्वजनिक गरेका छन् । अमेरिकन आइडलबाट बाहिरिएलगत्तै उनले ‘सेभ मी नाउ’ बोलको गीत सार्वजनिक गरेका छन् ।