स्वास्थ्य मन्त्रालयले भन्यो– कोरोना बढ्यो सजग रहनू

स्वास्थ्य मन्त्रालयले भन्यो– कोरोना बढ्यो सजग रहनू

काठमाडौँ । सरकारले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतार कोरोना भाइरस संक्रमणदर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न आग्रह गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा।समिरकुमार अधिकारीले पछिल्लो समयमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले कोरोनाबाट जोगिन अनिवार्य स्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न आग्रह गरे । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहायक प्रवक्ता अधिकारीले कोरोना संक्रमण अहिले दनिक ४० जनाभन्दा बढीमा देखिरहेको भन्दै सबै सजग हुन आग्रह गरे । उनले भिडभाडमा नजान र नगर्न, मास्क अनिवार्य प्रयोग गर्न र हातको सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । उने कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिए चिकित्सकको आवश्यक सल्लाह लिएर मात्रै औषधि सेवन गर्न आग्रह गरे । उनले कोरोनाबाट बच्नका लागि कोभिड १९ विरुद्धको खोप समयमै लगाउन पनि आग्रह गरे । 

उनले भने, ‘संक्रमणको बढोत्तरी हुँदैछ, अहिले बढेर सरदरमा ४० भन्दा माथि देखिन्छ । यसरी हेर्दा देशभर सक्रिय संक्रमितहरू ३५० को हाराहारीमा हुनुहुन्छ । केही समयअघि थिएन भन्दा पनि हुन्छ । कोभिडसँग मिल्दोजुल्दो संख्या पनि अलिकति बढी हो कि समुदायमा भन्ने देखिन्छ । समग्रमा पछिल्लो समय कोभिड पुष्टि हुनेको संख्या बढेर गएको छ । हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी भएकाले संक्रमण भएपनि त्यत्ति धेरै फैलिएको अवस्था छैन । कोभिड १९ बिरुद्धको खोप लगाइसकेको भएकाले पनि रोग प्रतिरोधात्मक क्षमता बढीरहेको छ । त्यसले संक्रमण त्यत्ति धेरै समुदायसम्म पुगिसकेको छैन ।’

सहायक प्रवक्ता अधिकारीले पछिल्लो समय बढीरहेको कोरोना संक्रमणलाई मध्यनजर गरेर अस्पतालहरूलाई आवश्यक निर्देशन दिइसकेको पनि बताए । उनले सरकारले संक्रमणको चाप अनुसार स्वास्थ्य सेवा विस्तार गर्नेगरी निर्देशन दिइसकेको बताए । उनले कोभिड १९ विरुद्धको खोप नलगाएकाहरूले स्थानीय तहसँगको समन्वयमा खोप लगाउनसक्ने पनि जनाए । उनले छिमेकी मुलुकहरूमा कोरोना संक्रमणको बढोत्तरी भइरहेकाले नेपालमा पनि आवश्यक सतर्कता अपनाउन जरुरी रहेको बतए ।