‘जानकारीनै नदिई नगरपालिकाले जागिरबाट निकाल्यो’

‘जानकारीनै नदिई नगरपालिकाले जागिरबाट निकाल्यो’

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा सव ओभरसियरमा कार्यरत थिए भीमबहादुर बोहरा । गत पुस १ गतेदेखि उनलाई जानकारीनै नदिई नगरपालिकाले जागिरबाट निकालेको हो ।

२०६४ सालदेखि प्राविधिक सहायक पदमा करारमा नियूक्ति भएका उनलाई नगरपालिकाले जानकारीनै नदिई जागिरबाट निकालेको बताउँछन् । उनले भने –‘मैले १६ वर्षसम्म साविकको मालाखेती गाविस तथा हालको नगरपालिकामा ईमान्दारीपूर्ण ढंगले काम काज गर्दै आएकोमा एकाएक नगरपालिकाले मलाई जानकारी वा स्पष्टीकरणको मौका समेत नदिई पूर्वाग्रही ढंगले हाजिरी लगाउन नदिएको अवस्थामा कार्यालयमा बुझ्न जाँदा जागिरबाट हटाइएको प्रतिक्रिया आयो ।’

उनलाई मंसिर १२ गते बसेको कार्यपालिका बैठकले  कार्तिकदेखि पुसमसान्तसम्म करार कार्य सम्पादन सम्झौताको म्याद नविकरण गर्ने निर्णय गरेको थियो । तर, मंसिर २८ गतेनै वडा कार्यालयमा पत्र पठाउँदै निजलाई हाजिर नगराउन हुन र निजसंग वडाबाट उपलब्ध गराएका मालसामान बुझिलिन भन्दै नगरपालिकाले पत्र पठाएको थियो । वडा कार्यालयमा पठाइएको पत्रमा भनिएको छ –‘असिस्टेण्ट सव इन्जिनियर स्वीकृत दरबन्दीमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २१ गते पठाएकोले पुस १ गतेदेखि लागु हुने गरि मासिक ज्यालादारी सम्झौता लागु हुने गरि म्याद नहुने जानकारी गराइन्छ ।’

उनी नगरपालिकाले आफनो संविधान प्रदत मौलिक हक समेत कुण्ठित गर्ने गरि काम गरेको बताउँछन् । उनले भने –‘नगरपालिकाले जानकारी नगराई एक्कासी हटाउँदा ममाथि सारै अन्याय भएको छ । संविधान पदत मौलिक हक समेत कुण्ठित गर्ने र रोजिरोटीमा लात हान्ने काम नगरपालिकाबाट भएको छ ।’

नगरपालिकाका प्रशासकीय शाखाका शिवराज भाटले बोहराको ठाउँमा स्थायी रुपमा मन्त्रालयले कर्मचारी खटाएकोले उनको हाजिरी रोकेको बताए । उनका अनुसार बोहराको ठाउँमा मन्त्रालयले केशवराज पन्तलाई पठाएको छ । ‘नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले सहमति दिएपछि मन्त्रालयले पठाएको कर्मचारीलाई दरबन्दी गरि करार सेवामा कार्यरत कर्मचारीलाई अवकास दिइएको हो ।’

उनलाई अन्य ठाउँमा व्यवस्थापन गर्न सक्ने नगरपालिकामा विकल्प हुँदा समेत अवकास दिनुमा नगर प्रमुखको स्वार्थ जोडिएको कर्मचारीहरु बताउँछन् । ‘यति लामो समय नगरबासीको सेवामा कार्यरत कर्मचारीलाई अन्य ठाउँमा व्यवस्थापन गर्न सक्ने विकल्प रहेपनि अर्को कर्मचारी मन्त्रालयले पठायो भन्दै अवकास दिनु उचित होइन्’ कर्मचारीहरु बताउँछन् ।

बोहराले साविकको गोदावरी गाविसमा २०६४ साल जेठ १ गतेदेखि मासिक एक हजार रुपैयाँ पारिश्रमिक पाउने गरि कामकाज शुरु गरेका थिए ।