वैशाखमा ऊर्जा सम्मेलन हुँदै

वैशाखमा ऊर्जा सम्मेलन हुँदै

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले आगामी वैशाख ५ र ६ गते ऊर्जा सम्मेलन गर्ने भएको छ । ऊर्जा क्षेत्रका नयाँ आयाम, विद्युत् व्यापार तथा खपत विस्तारलगायतका विषयमा छलफल गर्ने गरी सम्मेलन आयोजना गर्न लागिएको इप्पानले जनाएको छ ।

‘हरित ऊर्जा बजार विस्तार’ भन्ने मूल नारासहित आयोजना गर्न लागिएको सम्मेलनमा भारत, बङ्गलादेश, भुटान र श्रीलङ्काका ऊर्जामन्त्रीलाई पनि आमन्त्रण गरिएको छ । सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौताका लागि एमओयूमा हस्ताक्षर गर्ने इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । सम्मेलनमा ३० भन्दा बढी देशका तीन सय अन्तर्राष्ट्रिय प्रतिनिधिसहित नेपाल सरकारका उच्च अधिकारी, पावर ट्रेडिङ कम्पनी, विद्युत् उत्पादक, वित्तीय संस्था, प्रसारण तथा वितरण कम्पनी, परामर्शदाता कम्पनी, बिक्रेता, थिङ्क ट्याङ्क र अन्य ऊर्जा क्षेत्रका सरोकारवाला गरी करिब आठ सय जना सहभागी हुने आयोजकले जनाएको छ । सम्मेलनमा नेपालको विद्युत्को बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युत्को माग, प्रविधि र नवप्रवद्र्धन, सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूल विकासलगायतका विषय समेट्ने गरी विभिन्न १५ वटा सत्र सञ्चालन हुने इप्पानका उपाध्यक्ष आशिष गर्गले जानकारी दिनुभयो । 

सम्मेलनमा पर्यावरण, सामाजिक र सुशासन, क्षेत्रीय सहकार्य र ऊर्जा सुरक्षालगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।