कैलालीको घोडाघोडी नगर सभाबाट चार वटा विधेयक पारित

कैलालीको घोडाघोडी नगर सभाबाट चार वटा विधेयक पारित

सुखड । कैलाली घोडाघोडी नगरपालिकाको हिउँदे अधिवेशनले चार वटा विधेयक पारित गरेको छ । बुधवार बसेको सो नगर सभा  बैठकले सभा समक्ष प्रस्तुत भएका सबै विधेयक पारित गरेको हो । नगर प्रमुख खडक बहादुर रावतको सभाध्यक्षमा बसेको नगर सभा बैठकले स्थानीय वन विधेयक  ऐन २०७९, स्थानीय स्वास्थ्य सेवा विधेयक  ऐन २०७९,  जलचर एवं जलीय जैविक विविधता संरक्षण ऐन २०७९ र नगर प्रहरी व्यवस्थापन तथा संचालन विधेयक ऐन २०७९ विधेयक पारित गरेको छ ।
 
त्यसै गरी सभाका समितिहरूको कार्य संचालन नियमावली २०७९ समेत नगर सभा अधिवेशनले पारित गरेको छ । हिउँदे अधिवेशन बैठक सभाले योजना तथा कार्यक्रम थप,संशोधन तथा रकमान्तर समेत गरेको नगर प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष घनश्याम ओझाले जानकारी दिए । १६ औँ नगर अधिवेशन बैठकमा विधेयक समितिका संयोजक तथा वडा नम्बर ४ का वडा अध्यक्ष भरत कुमार शाहीले सभासमक्ष प्रस्तुत गर्नुभएका चार वटै विधेयक सर्वसम्मतले पारित भएका हुन् ।
 
सभालाई सम्बोधन गर्दै नगर प्रमुख खडक बहादुर रावतले सभामा उठेका विषयवस्तुप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका थिए ।  नगर सभा अधिवेशन (हिउँदे अधिवेशन) उप प्रमुख गुलिया कुमारी चौधरी, वडा नम्बर १ देखि १२ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्य कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो ।