अछामका भूकम्पपीडितलाई अस्थायी टहरा बनाउँदै रेडक्रस

अछामका भूकम्पपीडितलाई अस्थायी टहरा बनाउँदै रेडक्रस

अछाम। भूकम्प पीडितका लागि अछाममा ५० वटा अस्थायी घर टहरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ। नेपाल रेडक्रस सोसाइटीले स्थानीय स्रोत साधनको प्रयोग गरी बासका लागि अस्थायी टहरा निर्माण गरिरहेको हो।

जिल्लाको मंगलसेन नगरपालिका, साफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा अस्थायी टहरा निर्माण भइरहेका छन्।

नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित सुदूरपश्चिम भूकम्प प्रतिकार्य कार्यक्रम अन्र्तगत मंगलसेन नगरपालिकामा १० वटा, साफेबगर नगरपालिकामा २० र चौरपाटी गाउँपालिकामा २० गरी ५० वटा अस्थायी घर टहरा निर्माण भइरहेका छन्।

ती मध्ये केही सम्पन्न भएर पीडित घर परिवारलाई बुझाई सकिएको नेपाल रेडक्रस सोसाइटी अछाम शाखाका सभापति रत्न प्रसाद ढुंगानाले जानकारी दिए।

प्रति परिवारलाई ९८ हजार रुपैयाँ बराबरको अस्थायी घर टहरा निर्माण गरिएको छ। ५० वटा घरको लागि ४९ लाख ३० हजार रुपैया खर्च हुने र पहिलो किस्ता सम्बन्धित घर परिवारलाई बुझाएर घर निर्माण कार्य अन्तिम चरणमा पुगेको नेपाल रेडक्रस सोसाईटी नेपालका लैगिंक तथा समावेशीकरण अधिकृत ऋतु खड्काले जानकारी दिइन।

पिडित घर परिवारको लागि पहिलो किस्ता स्वरुप १९ लाख ३० हजार दिई सकिएको र बाँकी दोस्रो किस्ता आउने क्रम जारी रहेको खड्काले बताइन।

अछाम जिल्लामा भूकम्पले ८ सय ९ वटा घरहरु पूर्ण रुपमा क्षति भएका थिए। रेडक्रसले ५० जनालाई मात्रै सहयोग गरेकाले बाँकी ७ सय ५९ जनाको व्यवस्थापन गर्न चुनौती थपिएको छ।

बासका अस्थायी टहरा पनि आकर्षक तरिकाले निर्माण गरिदा अहिले स्थानीय पनि खुसी भएको मंगलसेन नगरपालिका वडा न ४ की एकल महिला टंक देवी धामीले बताइन।

भूकम्पले बस्न नमिल्ने गरी घर चर्कियो, रेडक्रसले अस्थायी रुपमा भएपनि बाँसको राम्रो बस्ने घर निर्माण गरिदिन लागेपछि निकै सहज भएको छ,’ उनले भनिन।