कञ्चनपुरबाट एडीबीको बजेट फिर्ता

कञ्चनपुरबाट एडीबीको बजेट फिर्ता

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र (डम्पिङ साई) निमार्णका लागि जग्गा नपाउँदा समस्या भएको छ । लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निमार्ण अन्योलमा छ ।
एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा भीमदत्त नगरपालिकामा आधुनिक सडक निर्माण सँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना भएपनि समयमा जग्गा उपलब्ध नहुँदा एडिबीको बजेट फिर्ता भएको नगरपालिकाका ईन्जिनियर हिमालय सिंह ऐरले जानकारी दिए ।

‘प्रशोधन केन्द्रका लागि एडीबीबाट ५० करोड बजेट आएको थियो नगरपालिकाले समयमा जग्गा उपलब्ध गराउन नसक्दा त्यो रकम फिर्ता भयो’ उनले भने ‘अहिले नगरपालिका आफैले प्रशोधन केन्द्र निमार्णका लागि जग्गा खोजिरहेको छ ।’ उनले अब नगरपालिकाले आफ्नै लगानीमा प्रशोधन केन्द्र बनाउनु परेको बताए ।

यसअघि नगरपालिकाले भीमदत्त नगरपालिकाको चुरेक्षेत्रमा प्रशोधन केन्द्र बनाउने भनेपनि स्थानीयको विरोधका कारण त्यहाँ प्रशोधन केन्द्र बन्न नसकेको हो । नगरपालिकाले जग्गा खोज्नका लागि यसअघि वडाध्यक्षको नेतृत्वमा समिति बनाएर समितिले प्रतिवेदन बुझाइसकेको छ । जग्गाको विषय र स्थान टुङ्गो नलाग्दा यहाँ प्रशोधन केन्द्र निर्माणमा ढिलाइ भइरहेको भीमदत्त नगरपालिकाका प्रवक्ता खड्काले बताए ।

‘फोहोरमैला प्रशोधन केन्द्र स्थापनाका लागि जग्गा खोजिरहेका छौँ’ खड्काले भने ‘जग्गा खरिद गरेर वा सार्वजनिक जग्गा उपयोग गरेर भए पनि केन्द्र निर्माणमा पालिकाले पहल भइरहेको छ ।’ महेन्द्रनगर बजारबाट मात्रै दैनिक ६ देखि सात टनसम्म फोहोर उठ्ने गरेको नगरपालिकाले जनाएको छ ।