घर भत्केपछि ओडारको बास

घर भत्केपछि ओडारको बास

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–५, गोत्रीका रूपधन सार्कीको परिवार विगत सात महिनादेखि ओडारमा बस्दै आएको छ। बस्ने घर भत्किएपछि सात जनाको परिवार ओडारमा बास बस्न बाध्य भएको हो। जगन्नाथ गाउँपालिकाले निर्माण गरेको देवलकोट सडक खण्डबाट आएको पहिरोले गत असोज ९ गते घर भत्किएपछि उनको परिवारको विचल्ली भएको छ। सडकको तल र माथिबाट झरेको पहिरोले सार्कीको घर भत्किएको स्थानीय निराजन सार्कीले बताए। 

पुर्खौँदेखिको घर पहिरोका कारण भत्किएको र अर्को कुनै बस्ने व्यवस्था नभएपछि सार्की परिवार ढुग्रीगाड ओडारमा बस्दै आएका छन्। रूपधनले ज्याला मजदुरीबाट परिवारको गर्जो टार्ने गरेको बताउँदै आर्थिक अवस्था कमजोर भएकाले घर निर्माण गर्न नसकेको दुःखेसो गरे । पहिलेको जस्तो स्वास्थ्य अवस्था पनि राम्रो नभएको र रोजगारीसमेत नभएका कारण घर निर्माण गर्न कठिनाइ भएको उहाँले बताए।