धनगढीमा बालिकामाथि बलात्कारको प्रयास, लेनदेनको कुरा बनाउने चलखेल

धनगढीमा बालिकामाथि बलात्कारको प्रयास, लेनदेनको कुरा बनाउने चलखेल

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा एक बालिकामाथि बलात्कारको प्रयास भएको छ। 
शुक्रवार साँझ बालिकामाथि बलात्कारको प्रयास गर्ने १९ वर्षीय बडै कुरैसीलाई प्रहरीले पक्राउ गरे पनि लेनदेनको कुरा बनाउन खोजेको छ।

१० वर्षीय बालिका धनगढीको एक मासु पसलमा मासु किन्न गएका बेला बलात्कारको प्रयास भएको स्थानीयहरूले बताएका छन्। ‘बालिका कुखुराको खुट्टा र टाउको किन्न गएकी थिइन’ ती स्थानीयहरूले भने ‘पछि कुरैसीले फर्म भित्र लगेर बलात्कारको प्रयास गरेको हो।’ 

स्थानीयका अनुसार बालिका कराएपछि बलात्कार हुनबाट बचेकी थिइन्। बालिकालाई स्थानीयले अर्ध नग्न अवस्थामा उद्धार गरेका थिए। स्थानीयको भिड देखेपछि कुरैसी फरार भएका थिए।

स्थानीयहरूले नै खोजेर कुरैसीलाई ल्याएपछि हातपात समेत गरेका थिए। उनीमाथि हातपात भएपछि प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएर उपचारका लागि भन्दै सेती अञ्चल अस्पतालमा राखेको छ। 
वडा प्रहरी कार्यालयका ईन्चार्ज वकिलबहादुर सिंहले भने पैसा फिर्ता नगरेपछि त्यहाँ विवाद परेको बताए।

‘बालिकाले पाँच सय रुपैयाँ लिएर कुखुराको टाउको र खुट्टा किन्न गएकी थिइन। पछि उनले बालिकालाई पुरै पैसा फिर्ता नगरी घर पठाएका थिए’ उनले भने ‘पछि अभिभावकले कम पैसा दिएको भनेर बालिकालाई बाँकी रुपैयाँ लिन पठाएका थिए। बालिका त्यहाँ गएपछि स्थानीय र कुरैसीबिच विवाद भएको थियो।’ 

उनले पक्राउ परेका कुरैसीलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको र जाहेरी आएमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइने बताए।