आइपिएलको १६ औँ संस्करण आजदेखि, उद्घाटन खेलमा चेन्नई र गुजरात भिड्दै

आइपिएलको १६ औँ संस्करण आजदेखि, उद्घाटन खेलमा चेन्नई र गुजरात भिड्दै

१६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट आजदेखि सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा गत संस्करण च्याम्पियन गुजरात टाइटन्स र चारपटकको विजेता चेन्नई सुपर किंग्स प्रतिस्पर्धा गर्नेछन् ।  

यी दुई टोलीबीचको खेल राति ७ः४५ देखि विश्वकै ठूलो क्रिकेट स्टेडियम अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ । लिगमा दुवै टोली जितका साथ सुरुवात गर्न चाहन्छन् । यसपटक पनि गुजरातको नेतृत्व हार्दिक पाण्ड्याले गर्दैछन् । त्यस्तै, चेन्नईले महेन्द्र सिंह धोनीलाई कप्तानमा निरन्तरता दिएको छ ।

गत संस्करण भएको दुवै खेलमा गुजरातले चेन्नईलाई हराएको थियो । आइपिएल २०२२ मा चेन्नईविरुद्ध गुजरात क्रमशः ३ र ७ विकेटले विजयी भयो । यसपटक पनि ऊ चेन्नईविरुद्धको जित यात्रा कायमै राख्चे सोचमा छ । चेन्नई भने गुजरातविरुद्ध बदला लिँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।

यसपटक आइपिएलका १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकत्ता नाइटराईडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनाउ सुपर जायन्ट्स रहेका छन् । त्यस्तै, समूह ‘बी’ चेन्नई सुपर किंग्स, सनराईजर्स हैदरावाद, गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंग्लोर र पन्जाब किंग्स प्रतिस्पर्धा गर्नेछन् । 

आफ्नो समूहमा रहेका सबै टोलीसँग र अर्को समूहमा सोही नम्बरमा रहेका टोलीसँग दुई / दुई तथा अर्को समूहका बाँकी टोलीसँग एक / एक खेल हुनेछ । जसअनुसार लिग चरणमा हरेक टोलीले १४ / १४ खेल खेल्ने छन् ।