१० हजार सापटी फिर्ता नदिएको निहुँमा हत्या, तनहुँ प्रहरीद्वारा अभियुक्त सार्वजनिक

१० हजार सापटी फिर्ता नदिएको निहुँमा हत्या, तनहुँ प्रहरीद्वारा अभियुक्त सार्वजनिक

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित पपिलटार खानेपानीको ट्यांकीमा गत आइतबार एक महिलाको शव भेटियो । २र३ दिनदेखि पानीमा गन्ध आयो भन्दै उपभोक्ताले गुनासो गरेपछि समितिले ट्यांकीको ढक्कन खोलेर हेर्दा पानीमा शव तैरिरहेको अवस्थामा थियो ।

उपभोक्ता समितिले जिल्ला प्रहरी कार्यालयलाई तत्काल खबर गरी सडेगलेको अवस्थामा शव निकालियो । गरगहना र पैसा लुटपाट गरी हत्या गरेको शंका गरी प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको तनहुँका प्रहरी उपरीक्षक अवशेष विष्ट क्षेत्रीले बताए । तनहुँ प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अशंकामा पक्राउ परेका एक युवकलाई सार्वजनिक गरेको छ । महिलाको प्यान्टको खल्तीमा पानीले भिजेको अवस्थामा भेटिएको मोबाइल नम्बर लेखिएको चिटको आधारमा शवको सनाखत गरिएको र त्यही आधारमा अनुसन्धान गर्दा शंकास्पद युवक पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक विष्टले बताए ।

उनले भने, ‘पोखरा महानगरपालिका–३३ बस्ने २० वर्षीय छोरा मनिष श्रेष्ठबाट मृतकको सनाखत गरिएको हो ।’ मृतक धादिङ जिल्ला गंगाजमुना गाउँपालिका ४ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका १२ अमरसिंह चोकस्थित डेरा गरी बस्दै आएकी ४४ वर्षीया शान्ति श्रेष्ठ भएको उनले बताए ।