धनगढीका तिन स्थानमा पार्किङ स्थल

धनगढीका तिन स्थानमा पार्किङ स्थल

धनगढीः धनगढीको मुख्य बजार क्षेत्रको अव्यवस्थित पाकिङ्गलाई व्यवस्थापन गर्न निःशुल्क मोटरसाइकल पार्किङ स्थालहरु स्थापना गरिन थालिएको छ।

धनगढीमा बढ्दै गएको सवारी चापका कारण पार्किङको समस्या देखिएपछि उपमहानगरपालिकाले साबिकको पशु सेवा कार्यालय अगाडी, जनस्वास्थ्य कार्यालय अगाडी र जिल्ला प्रशासन कार्यालय अगाडी पाकिङको व्यवस्था गरेको छ।

शुक्रवार मात्रै धनगढीको जिल्ला पशु स्वास्थ्य कार्यालय अगाडी निःशुल्क मोटरसाइकल पार्किङ स्थल सञ्चालनमा ल्याइएको धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले बताए। 

उनले भने, ‘अर्को व्यवस्था नभएसम्मका लागि मुख्य बजारको सडक क्षेत्रमा रहेको खुला ठाउँलाई सदुपयोग गरिने भएको छ।’

धनगढीको मुख्य बजारमा रहेका बैंक र अस्पताल अगाडी सेवाग्राहीका मोटरसाइकल बाटो नै छेक्ने गरी पार्किङ गरिएका हुन्छन्। बजारको सवारी चाप र अव्यवस्थित पार्किङ्गले बजार क्षेत्र अस्तव्यस्त हुने गरेको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले तोकिएको ठाउँमा पार्किङ नगर्नेलाई कार्वाही गरिने बताएको छ। पार्किङ गर्ने ठाउँ रेखांकन गरिएको छ भने पार्किङ स्थल भनेर बोर्ड पनि राखिएको छ। 

धनगढी उपमहानगरपालिकाले अस्थाई रूपमा भए पनि मोटर साइकल पार्किङको व्यवस्था गरेपछि पार्किङमा सहजता भएको एक जना मोटरसाइकल चालक खुसीराम चौधरीले बताए।