सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि सुरु, मुख्यमन्त्री शाहले गरे उद्घाटन

सुदूरपश्चिम खप्तड गोल्डकप आजदेखि सुरु, मुख्यमन्त्री शाहले गरे उद्घाटन

धनगढी । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण आजदेखि सुरु भएको छ । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा बिहिबारदेखि दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे ।

उनले खेल र खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना हुन आवश्यक रहेको बताए । उनले प्रदेशलाई विश्वभरी पहिचान गराउन पनि खेलकुद क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । उनले खेलकुदले मानिसलाई अनुशासित, स्वस्थ राख्न पनि मद्दत गर्ने बताए । 

खेलकुद प्रतियोगिताको समुद्घाटनसंगै आयोजक क्लबले मुख्यमन्त्री शाहलाई २ बुँदे ज्ञापनपत्र हष्तान्तरण गरेको थियो । प्रदेश सरकारले रातो किताबमा बजेट विनियोजन गरी प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नमा सहयोग गर्नुपर्ने र क्षेत्रीय रंगशाला धनगढीमा रात्रीकालिन खेल प्रतियोगिता सञ्चालन गर्न आधुनिक लाइट जडान गर्नुपर्ने क्लबको माग रहेको थियो ।

यस्तै, सयौँ पटक रक्तदान गरेका दीपक उपाध्याय नेपाल र पूर्नवासका फिलीप तामाङलाई समाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको थियो ।
आयोजक टिमले खेलकुदको विकासले उन्नत समाज र देशको विकास गर्न सकिने जनाएको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा नेपाल एपीएफ क्लब र बागमती क्लबबिच प्रतिष्पर्धा भईरहेको छ । 
प्रतियोगितामा ‘ए’ डिभिजन ६ टिम, दुई विदेशी टिम, मोफसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । 

प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । 
विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी  दिएको छ । सुदूरपश्चिममा प्रतियोगिता २०७३ सालदेखि आयोजना हुँदै आएको छ ।