दार्चुलाको मार्मामा तनाव सिर्जना

दार्चुलाको  मार्मामा तनाव सिर्जना

दार्चुला ।  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका क्रममा मार्मामा तनाव सिर्जना भएको छ । लटिनाथ क्याम्पस मार्मामा मतदानका क्रममा तनाव भएको हो ।

परिचयपत्रको विषयमा विद्यार्थीहरुबीच विवाद भई तनाव सिर्जना भएको  प्रहरीले जनाएको छ । मार्मामा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मतदान गर्ने समय तोकिएको थियो । मतदानका लागि हिजो परिचयपत्र लिएका विद्यार्थीहरुले मात्र आज मतदान गर्न पाउने सहमती भएपनि केही विद्यार्थीहरुले क्याम्पसबाट आजै परिचयपत्र लिइ मतदान गरेको पाइएपछि तनाब भएको हो ।
  
आज मात्रै परिचयपत्र पाई मतदान गरेका विद्यार्थीहरुको मत बदर हुनुपर्ने नेविसंघको अडान छ । १२८ विद्यार्थी मतदाता रहेको उक्त क्याम्पसमा  ८१ मत खसेका छन् । अहिले सर्वपक्षीय बैठक बसि छलफल भइरहेको छ ।यस्तै नेपाल विद्यार्थी संघ दार्चुलाले क्याम्पस प्रशासन र निर्वाचन समितिले धाधली गरि निर्वाचन गराएको आरोप लगाएको छ ।

नेविसंघका कार्यबाहक अध्यक्ष सुरेन्द्र बहादुर बमले एक बिग्यप्ती जारी गर्दै सहमति बिपरित थप विद्यार्थी ल्याएर परिचय पत्र वितरण गरि निर्वाचन अधिकृतको मिलोमतोमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले बल प्रयोग गरि प्रक्रिया नपुर्‍याएका विद्यार्थीबाट  जबर्जस्ति भोट हाल्न लगाउने घटनाप्रति हाम्रो गम्भीर आपत्ति र ध्यानाकर्षण भएको छ जनाएको छ ।