ऐरी र सार्कीलाई भिमदत्त नगरपालिकाले नगद पुरस्कार दिने

ऐरी र सार्कीलाई भिमदत्त नगरपालिकाले नगद पुरस्कार दिने

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही रु १ लाख ५१ हजार पुरस्कार दिने भएको छ। 

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौंमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा खुसी व्यक्त गर्दै नगरपालिकाले टोलीका महत्वपूर्ण खेलाडीद्वय ऐरी र सार्कीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

सुदूरपश्चिमको कञ्चनपुर बाट प्रतिनिधित्व गर्ने खेलाडीलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने निर्णय गरेको नगर प्रमुख पदम बोगटीले जानकारी दिए। 

एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकामा नगर प्रमुख बोगटीले नेपाली टोलीलाई बधाई ज्ञापनसमेत गरेका छन्।

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको हो । जितसँगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ ।
  
नगरको पुरस्कार घोषणा प्रति खुसी व्यक्त गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य भीम सार्कीले प्रोत्साहनले आगामी दिनमा क्रिकेट खेल्न हौसला मिलेको बताए।

नेपाली यू–१९ टोली हालै युनाइटेड अरब इमिरेट्स (यूएई) मा सम्पन्न  एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको थियो। नेपाल सन् २०२४ मा हुने आइसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । 

टोलीमा मुख्य प्रशिक्षक जगत टमाटा, सहायक प्रशिक्षक धीरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवा रहेका थिए ।