२२औं तिलोत्तमा गोल्डकप आजदेखि सुरु

२२औं तिलोत्तमा गोल्डकप आजदेखि सुरु

बुटवल । २२औं संस्करणको तिलोत्तमा गोल्डकप आज शनिबारदेखि सुरु हुँदैछ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुनेछ ।

बुटवल उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगिताको उद्घाटन दिउँसो २ बजे र खेल तीन बजे सुरु हुने रुपन्देहीजिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।

प्रतियोगिता अवलोकनका लागि पाँच हजार क्षमताको स्थायी प्याराफिटसँगै दुई हजार ५०० जना क्षमताको दुई वटा अस्थायी प्याराफिट तयार गरिएको छ  ।

पहिलो चरणका खेल अवलोकनका लागि दुई सय र एक सय रुपैयाँको टिकट दर कायम गरिएको छ । कोरोना महामारी र आर्थिक अभावका कारण चार वर्षसम्म रोकिएको प्रतियोगितामा दुई विभागीयसहित ८ टिमले भाग लिएका छन् ।