नयाँ कानुन समाज रूपान्तरणको लागि महत्वपूर्णः मुख्यमन्त्री भट्ट

नयाँ कानुन समाज रूपान्तरणको लागि महत्वपूर्णः मुख्यमन्त्री भट्ट

धनगढीः प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रवारदेखि लागू भएको नयाँ कानुन समाज रूपान्तरणको लागि महत्वपूर्ण हुने बताएका छन्।  

प्रदेश नम्बर ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नयाँ कानुन लागू भएको अवसरमा शुक्रवार धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय समारोहमा नयाँ कानुनको स्वागत गर्दै मुख्यमन्त्री कानुन आफै चलायमान नहुने भन्दै यसलाई चलायमान बनाउनु पर्ने उल्लेख गरे।  

लामो समय लगाएर ठुलो संघर्ष गरी ल्याएको यो कानुनलाई कार्यान्वयन गर्ने मुख्य काम रहेको बताउँदै मुख्यमन्त्री भट्टले यो कानुनलाई सकारात्मक रूपमा लिन अनुरोध समेत गरे। उनले कानुन पालना गर्नु सबैको कर्तव्य रहेको समेत बताए।  

उनले युग सुहाउँदो र अपराधको गति नियन्त्रण गर्न सक्ने कानुन आएको टिप्पणी गरे। मुलुकमा संविधान, संघीयता र नयाँ कानुन आइसकेकाले अब विकासको बाटो खुलेको मुख्यमन्त्रीको भनाइ थियो । उनले भने, ‘अब विकासको बाधक भए हाम्रो सोच र मनोवृत्ति मात्रै हुनेछ। त्यसैले सकारात्मक सोच राखौँ।’ 
कानुनको पालना गर्नु प्रत्येक व्यक्तिको दायित्व रहेको मुख्यमन्त्री भट्टले बताए। उहमले यो कानुनलाई लागू गर्न सकिएमा विकासको बाटोमा अगाडि बढ्न सकिने दाबी उनकाे छ। कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले कानुनको सबल पक्षलाई दृढ रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।

कानुनमा भएका कमी कमजोरी क्रमिक रूपमा संशोधन हुँदै जाने भन्दै सभामुख थापाले अहिलेको अवस्थामा लागू भएको नयाँ कानुनको कार्यान्वयन हुन नसके समस्या आउने बताए।

उनले समृद्धिको लागि मार्ग निर्देशन, कानुनको प्रत्याभूत गराउन र समाज रूपान्तरणका लागि नयाँ कानुन महत्वपूर्ण हुने उल्लेख गरे। उनले भने, ‘यो कानुन कार्यान्वयनमा चुकेमा इतिहासले धिक्कार्ने छ। सकारात्मक पक्षको कार्यान्वयन गर्दै जाऔँ। त्रुटिहरू सच्याउँदै जाउँला।’

भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले युग सुहाउँदो कानुन आएको धारणा राखे। मुलुकी ऐनमा निकै कम सजाय र जरिवाना भएका कारण पनि अपराध नियन्त्रण हुन नसकेको भन्दै नयाँ कानुनमा हदै सम्मको कानुन रहेको उनले बताए।

उनले नयाँ विशेषता बोकेर आएको कानुन लागू गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई पालना गर्नका लागि सबैलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिए।

मुख्य महान्यायाधिवक्त कुलानन्द उपाध्यायले विगतको ऐन भन्दा नयाँ ऐन वैज्ञानिक भएको बताए।सामाजिक अपराधलाई पनि कसुर मानेको अहिलेको कानुनको कार्यान्वयन आवश्यक रहेको उनकाे भनाइ छ।

प्रदेश नम्बर ७ का प्रमुख सचिव लक्ष्मीराम पौडेलले सभ्य समाज निर्माणका लागि कानुन आवश्यक रहेको बताए। उनले असल समाज, असल घरपरिवार निर्माणका लागि नयाँ कानुन अति महत्वपूर्ण रहेको उल्लेख गरे।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर अर्यालको अध्यक्षतामा सम्पन्न सहमारोहमा प्रदेश सांसदहरू देवकी मल्ल, लिलाधर भट्ट, भरत खड्का, कृष्ण चौधरी लगायत मन्त्रालयका सचिवहरूले मन्तव्य व्यक्त राखेका थिए।