गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्ववियू सर्वसम्मत

गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्ववियू सर्वसम्मत

दार्चुला : दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्ववियू सर्वसम्मत गठन गरिएको छ । बुधवार मनोनयन दर्ताको दिन तीन विद्यार्थी संगठनको समझदारीमा स्ववियू सर्वसम्मत गठन गरिएको हो । 

गोकुलेश्वर बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) को नेतृत्वमा स्ववियु गठन गरिएको निर्वाचन अधिकृत धन सिंह विष्टले जानकारी दिए । 

उक्त क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु क्रान्तिकारीका नविन विष्ट, सचिवमा अनेरास्ववियुका ज्ञानेन्द्र गोयला, कोषाध्यक्षमा नेविसंघका जगदीश विष्ट चयन भएका छन् । यस्तै सदस्यमा नेविसंघका गोबिन्द सिंह डाँगा, अनेरास्ववियु क्रान्तिकारीका हसिला चन्द, अनेरास्ववियुका रुद्र सिंह विष्ट, केशव दत्त जोशी, मनिसा साउँद र लक्ष्मी जोशी सर्वसम्मत चयन भएका छन् । निर्वाचन अधिकृत विष्टका अनुसार समानुपातिक समेटिएपछि घोषणा गरिनेछ ।

दार्चुलामा सुदूरपश्चिम विश्वविद्यालयका २ आंगिक क्याम्पस रहेका छन् भने त्रिभुवन विश्वविद्यालयका ५ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको दार्चुला बहुमुखी क्याम्पसमा पनि बुधवार विद्यार्थी संगठन र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । स्ववियू अध्यक्षमा स्वतन्त्र उम्मेदवार अनिल चन्द्र जोशीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले संयुक्त रुपमा प्लानल खडा गरी चुनाव लड्दैछन् । निर्वाचन अधिकृत धाना धामीका अनुसार अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको तर्फबाट अध्यक्षमा कृष्ण धामी, नेविसंघको तर्फबाट भान बहादुर पालको उम्मेदवारी दर्ता भएको छ ।

अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीका तर्फबाट सचिवमा धनसिंह धामी, कोषाध्यक्षमा मनिसा डडाल, सदस्यमा दिपु सिंह महता, सुनिता धामी, हेमा ठगुन्ना, सुनिल कार्की, कामला कार्की, बसन्ती धामी उम्मेदवार छन् । यस्तै नेविसंघको तर्फबाट सचिवमा जवन सिंह डडाल, कोषाध्यक्षमा विजया जोशी, सदस्यहरुमा भीम सिंह ऐरी, पुष्पा महता, दिपक राज भट्ट, रेखा पार्की, राजेन्द्र बोहरा, रोशन सिंह मन्यालले उम्मेदवारी दिएका छन् । अपीनाम्पा क्याम्पसमा निर्वाचन स्थगितव्याँस गाउँपालिका–६ स्थितको अपीनाम्पा क्याम्पस हुतीमा स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पस प्रशासनले प्राविधिक समस्याको कारण देखाउँदै तोकिएको समयमा निर्वाचन गर्न नसकिने जनाएको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको उक्त क्याम्पसमा फागुन २७ गतेको मनोनयन पछि क्याम्पस प्रशासनले निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो । 

त्यहाँ नेपाल विद्यार्थी संघको मात्रै मनोनयन परेको थियो । क्याम्पसले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाइएको छ । तर नेविसंघले भने निर्धारित मितिमा नै निर्वाचन गराउन माग गरेको छ ।