नेपालको शानदार जित : आशिफले २१ बल मै बनाए अर्धशतक

नेपालको शानदार जित : आशिफले २१ बल मै बनाए अर्धशतक

काठमाण्डौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले पीएनजी विरुद्द शानदार जित हात पारेको छ । नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको हो ।

नेपालले जितको लागि ९६ रनको लक्ष्य पाएकोमा १ विकेटको क्षतिमा ७.४ ओभरमा नै उक्त लक्ष्य भेट्टायो । नेपालको जितमा आशिफ शेखले २१ बल मै ५३ रन बनाए । उनले ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै कुशल मल्लले १२ रन तथा कुशल भुर्तेलले १४ बलमा ३३ रन बनाए । 

खेलमा टस हारेर पहिलो ब्याटिंग गरेको पीएनजी ९५ रन मै अल आउट भएको थियो। पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाउदै केवल ९५ रन मात्र बनाएको हो । पीएनजीलाई सस्तैमा समेट्न नेपालको लागि सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए । यस सँगै उनले एक दिवसीयमा ९८ विकेट लिएका छन् । अब ३ खेलमा २ विकेट लिए उनी एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बन्ने छन् । हालको यो रेकर्ड अफगानिस्तानका राशिद खानको नाममा छ । उनले ४४ खेलमा १०० विकेट लिएका हुन् । सन्दिपको भने हाल ४० खेल मात्र भएको छ ।

त्यस्तै आज कुशल मल्लले २ विकेट, ललित राजबंशीले २ विकेट र सोमपाल कामीले १ विकेट लिए । 

आजको जित सँगै अंक तालिकामा नेपालको ३५ खेलबाट ३८ अंक भएको छ ।  नेपालले हिजो युएईलाई पराजित गरेसँगै नेपालको दिवसीय बरियता कायम नै रहने पक्का भईसकेको छ। अब नेपालले आगामी  बिहिबार युएईलाई पराजित गरेमा नेपाल ४० अंक सहित अंक तालिकाको तेस्रो स्थानमा उक्लने छ। तेस्रो स्थानमा नेपाल पुगेमा नेपाल सिधै एक दिवसीय विश्वकप छनौट खेल्न पाउने छ। 

यदि शिर्ष ३ मा पर्न सकेन भने पनि नेपालले विश्वकप छनौट खेल्न सक्छ। तर त्यसको लागि ६ देश सम्मिलित अर्को छनौट खेल्नु पर्छ र ति ६ देश मध्ये शिर्ष २ मा रहन सक्नु पर्छ । यदि शिर्ष २ मा पर्न सकेन भने विश्वकप छनौट खेल्ने सम्पूर्ण सम्भावना बन्द हुन्छ। 

 विश्वकप छनौटमा १० टिम रहने छन् । यसमा शिर्ष २ मा रहने २ टिमले आगामी वर्ष भारतमा हुने ५० ओभरको विश्वकप खेल्न पाउने छन् ।