कुखुरा, अण्डादेखि कवाडमा समेत कर तिर्नुपर्ने  !

कुखुरा, अण्डादेखि कवाडमा समेत कर तिर्नुपर्ने  !

धनगढी : कुखुरा पालेपनि कैलालीको धनगढी उपमहानगरपालिकालाई कर तिर्नुपर्ने भएको छ । 

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ देखि कृषि तथा पशुजन्य बस्तुको व्यावसायिक कारोवार शिर्षक अन्तर्गत कुखुरा मात्रै हैन, अण्डा, माछा, खसि, भेडा, बाख्रा, सुगुर, रागा, तरकारी तथा फलफुल जन्य बस्तुको पनि कर सकलन गर्ने भएकोे छ । 

उपमहानगरपालिकाको आर्थिक ऐनमा कुखुरामा प्रतिगोटा २० र अण्डामा प्रतिगोटा एक रुपैया सकलन गर्ने उल्लेख गरिएको छ भने  माछामा प्रतिकेजी २० रुपैया, खसि, भेडा, बाख्रा, सुगुर, रागामा प्रतिगोटा २ सय रुपैया सकलन गर्ने जनाईएको छ । 

कृषि तथा पशुजन्य बस्तुको व्यावसायिक कारोवार शिर्षक अन्तर्गत धान, गहु, दलहन, तेलहन, पिठो मैदा, मकै, चना, चोकर लगायतमा पनि उपमहानगरपालिकाले कर लगाएको छ । 

खोला तरेपनि कर 

आफनै घर वरिपरि रहेका बेला नाला तरेपनि अव उपमहानगरपालिकालाई कर तिनुपर्ने बाध्यता बनेको छ । 

एक व्यक्तिले खोला तथा घाट तरेमा उपमहानगरपालिकालाई २५ रुपैया बुझाउनुपर्ने छ । त्यस्तै, प्रति साईकल, प्रतिवोरा सामान, प्रति चौपाया १५ रुपैया तिर्नुपर्ने छ भने मोटरसाईकल वापत ३० रुपैया तिर्नुपर्ने छ । 

सडकमा सामान बेच्नेलाई बहाल विरौटी कर 

उपमहानगरपालिकाले घुम्ती र ठेला पसल र भुईमा सामान बेच्नबाट पनि दैनिक २० रुपैया कर सकलन गर्ने भएको छ । 

थपियो कवाडी कर

उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि लागु हुने गरि कवाडी कर पनि सकलन गर्ने भएको छ । यसलाई उपमहानगरपालिकाले करको दायरा बढाएको भनेको छ । 

पुनः प्रयोग हुने कवाडी सामानहरुमा लाग्ने करको दर समेत उपमहानगरपालिकाले सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले कवाडी बस्तुमा २० पैसादेखि १५ रुपैयासम्म कर तोकेको छ । 

मदिरामा दोव्वरले कर बृद्धि

उपमहानगरपालिकाले चालु आर्थिक वर्षदेखि मदिरामा दोव्वरले कर बृद्धि गरेको छ । तर, सुर्तिजन्यमा भने करलाई यथावत राखिएको छ । 

यसअघि १० हजार रुपैया तिर्दै आएका मदिराका अधिकृत, थोक विक्रेता तथा वियरका डिलरहरुले अव २० हजार कर तिर्नुपर्ने भएको छ । 

५ हजार ५ सय तिर्दे आएका खुद्रा मदिरा विक्रेताले १० हजार र यसअघि ३ हजार ५ सय रुपैया तिर्दै आएका मदिरा सहितका कोल्ड स्टोरले  ७ हजार रुपैया कर तिर्नुपर्ने छ । 

 धनगढी उपमहानगरपालिकाले विभिन्न शिर्षकमा कर बढाएको भन्दै सर्वत्र आलोचना भईरहेका बेला उपमहानगरपालिकाले भने कुनै पनि बस्तुमा कर नबढाएको दावी गरेको छ । 

गत आर्थिक वर्ष २०७४/७५ का प्रगति विवरण सार्वजनिक गर्न विहिवार आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाले कर बढाउनुभन्दा घटाएको समेत दावी गरेको छ ।