ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदै छ। तेस्रो चरणअन्तर्गत शनिबार च्यासल रंगशाला र दशरथ रंगाशालामा खेल हुन लागेको हो।

दिउँसो साढे २ बजे च्यासलमा हुने खेलमा नेपाल पुलिस र संकट क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई खेलमा पराजित पुलिस आज पहिलो जितको खोजी मैदान उत्रिँदा संकटा पनि पहिलो जित दर्ता गर्ने दाउमा हुनेछ। संकटाले दुई खेलमा एक अंक जोडेको छ भने पुलिस अंकविहीन छ। 

यस्तै सोही समयमा दशरथ रंगशालामा एपीएफ क्लब र जावलाखेल भिड्ने छन्। यसअघिका दुवै खेलमा जित निकालेको जावलाखेल लगातार तेस्रो जितको लक्ष्यमा रहँदा एपीएफ दोस्रो जित निकाल्ने दाउमा हुनेछ। जावलाखेलले दुई खेलबाट ६ अंक जोडिसकेको छ। 

यस्तै साढे ५ बजे दशरथ रंगशालामै हुने अर्को खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। फ्रेण्ड्स आज पहिलो जितको खोजीमा मैदान उत्रिँदा सातदोबाटो भने लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ। सातदोबाटोले २ खेलबाट ६ अंक जोडेको छ ।