सञ्चालकको गैरउपस्थितिमा चल्दैछन फार्मेसी

सञ्चालकको गैरउपस्थितिमा चल्दैछन फार्मेसी

धनगढी ।  धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित राम्रो भरोसा फार्मेसीलाई औषधि पसल पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइयो । फागुन ८ गते प्रमुख जिल्ला अधिकारी युवराज कटेलको नेतृत्वमा औषधि पसल अनुगमनका क्रममा सो फार्मेसीमा औषधि सञ्चालक थिएन् ।

‘व्यवसायी अनुपस्थितिमा पसल सञ्चालन गरेको र पहिलेको अनुगमनको निर्देशन अटेर गरेको’ भन्दै ‘पसल रद्द गर्न वा व्यवसायी परिवर्तन गर्न’ टोलीले सुझाव दियो । तर, अझै पनि सो फार्मेसी बन्द हुनुभन्दा पनि सञ्चालनमा रहेको छ । बिहिबार ‘धनगढी खबर’ले सो फार्मेसीमा जाँदा औषधि खरिद गर्नेको भिड रहेको थियो । फार्मेसी सञ्चालकले अर्को मान्छेलाई राखी सेवा प्रदान गरिरहेका थिए । 

सो फार्मेसी योगेश पन्तको नाममा रहेको छ । उनको दर्ता नम्बर ‘ए७५९४’ हो । तर, फार्मेसीमा भुवन भट्ट भेटिन्छन् । 

राम्रो भरोसा फार्मेसीझै सयपत्री फार्मेसी र धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित बसन्त फार्मेसीमा पनि व्यवसायी अनुपस्थितिमा सञ्चालनमा रहेको थियो । टोलीले दुबै फार्मेसीलाई ‘पूर्ण रुपमा बन्द गर्न र सक्कल प्रमाणपत्रसहित औषधि व्यवस्था विभाग नेपालगञ्जमा उपस्थित हुन’ निर्देशन दियो । तर, यी फार्मेसी पनि अहिले धमाधम सेवा प्रदान गरिरहेका छन् ।

बसन्त फार्मेसीले दर्ता नभएको औषधि संचय गर्नुका साथै विलमा पनि ब्याच नम्बर म्याद नाघेको मिति भर्ने नगरेको पाइएको थियो । दर्ता नभएका औषधि कुनै पनि फार्मेसीले विक्री वितरण तथा संचय गर्न नपाउने व्यवस्था रहेको छ । यद्यपी अनुगमन टोलीले पूर्ण रुपमा बन्द गर्न भनेर गएको भोलीदेखिबाटै यी फार्मेसीले सेवा दिईरहेका छन् ।

अवैध र गैरकानुनि रुपमा फार्मेसीहरु सञ्चालन भईरहदासमेत सम्बन्धित निकायले चेतावनी दिने र पूर्ण रुपमा बन्द गर्न निर्देशन दिँदै आएपनि कारबाहीको दायरामा भने ल्याउन नसक्दा धनगढीमा सञ्चालनमा रहेका औषधि पसल नियमन हुन सकेको छैन् ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी भन्छन् –‘अयोग्य व्यक्तिले फार्मेसीमा बस्दा चिकित्सकले सिफारिस गरेको भन्दा पनि फरक औषधि दिन सक्ने जोखिम बढ्छ । जसले गर्दा विरामी ठिक हुने भन्दा पनि थप असर व्यहोर्नुपर्ने हुन्छ ।’ उनले फार्मेसी सञ्चालक नभएपछि त्यहाँ भएका व्यक्तिले आफुखुशी महँगोमा औषधि विक्री गर्ने बताए । उनले भने –‘पैसा कमाउने उद्देश्यले सञ्चालनमा ल्याइएका फार्मेसीहरुका कारण आम उपभोक्ता मारमा पर्छन् । यसका लागि औषधि व्यवस्था विभागले अनुगमनलाई नियमित गर्नुपर्ने छ ।’

कैलाली अस्पतालका सञ्चालक जनक जोशीले औषधि व्यवस्था विभागले नियमित अनुगमन नगर्दा फार्मेसीमा विकृति बढ्दै गएको बताए । उनले भने –‘विभागको शाखा प्रदेशमा छैन । नेपालगञ्जमा रहेको शाखामा पनि जनशक्ति छैन् । यसका कारण यहाँ शहर केन्द्रित फार्मेसी तथा क्लिनिकमा अनुगमन हुन्छ । शहर भन्दा पनि दुर्गम गाउँमा सञ्चालनमा रहेका क्लिनिक तथा फार्मेसीमा वेथिति बढी रहेको छ ।’