सचेतनामुलक सन्देश प्रवाह गर्ने माध्यम बन्दै टिकटक

सचेतनामुलक सन्देश प्रवाह गर्ने माध्यम बन्दै टिकटक

धनगढी । ‘त त एउटा केटी होस् । तैले पढेको होइन विवाह गरेर अरुको घर सम्हालेकोनै सुहाउँछ’ यो शब्द सुन्दा एकछिन आँखाबाट आँशु झारेको दृष्य छ । अगाडि शब्द छ –‘तिमी यो कुरा कसैलाई पनि भन्दैनौ यदी, समाजमा यो कुरा थाहा भयो भने हामी समाजमा मुख देखाउने लायक बच्दैनौं । त्यसैले यो कुरा बिर्सिदेउ ।’ 

कैलालीकी कामना देउवाले छोरीले पढ्न हुँदैन, घरभित्र हुने हिँसाबारे बोल्न हुँदैन, घरपरिवारकै सदस्यबाट हुने गलतबारे आवाज उठाउन हुँदैन, महिनावारीका समयमा पर–पर बस्नुपर्ने लगायतका दृष्यलाई समेटेर भिडियो बनाएर टिकटकमा राखेकी छिन् ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले खुल्ला आह्वानमार्फत आयोजना गरेको लैङ्गिक हिँसा विरुद्धको सचेतनामुलक टिकटक प्रतियोगितामा भाग लिन बनाएको उनको यो टिकटक उत्कृष्ट बन्यो । देउवाले महिलामाथि हुने विभिन्न प्रकारका अवरोध, कुप्रथा र हिँसाको यथार्थ चित्रण र सो विरुद्धको सचेतना अभिवृद्धि गराएको भन्दै नगदसहित पुरस्कृत भईन् । उनलाई मन्त्रालयले नगद दश हजार, दोसल्ला ओढाएर तथा प्रमाणपत्र वितरण गरेर बुधबार ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सम्मान गरेको हो ।

धनगढी उपमहानगरपालिकाका नन्दराज भट्टले धनगढी उपमहानगरपालिकाले घोषणा गरेको प्लाष्टिक मुक्त अभियानलाई सफल बाउन टिकटकमा भिडियो बनाए । उनलाई उपमहानगरपालिकाले माघ महिनाको उत्कृष्ट भिडियो बनाएको भन्दै नगदसहित सम्मान गर्यो । उनलाई उपप्रमुख कन्दकला रानाले महिनाको उत्कृष्ट भिडियो भएको भन्दै नगद १५ हजारसहित सम्मानित गरिएको घोषणा गरिन् ।

नृत्य, गीत, कसैले बोलेको नक्कल गर्ने, प्रभावशाली व्यक्ति मार्फत आफूलाई ‘ब्रान्डिङ’ गर्ने र आफ्ना विचार राख्नेमा प्रचलित रहेको टिकटक सरकारी निकायहरुले प्रतियोगिता आयोजना गर्न लागेपछि युवाहरु सचेतनामुलक भिडियो बनाउनतर्फ अग्रसर बनेका छन् ।
सरकारका मन्त्रालय तथा स्थानीय तहहरुले विभिन्न शिर्षकमा प्रतियोगिता आयोजना गर्दै आएपछि आम नगरबासी सोही अनुसारका सचेतनामुलक भिडियो बनाउनतर्फ अग्रसर बनेका छन् । धनगढी उपमहानगरपालिकाले कार्तिकदेखि प्लाष्टिकरहित उपमहानगरपालिका अभियान सञ्चालन गर्दै उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्दै आएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले एक सय १३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।

मन्त्रालयले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट तीन जनालाई नगद दश हजार सहित पुरस्कृति गरेको हो । पुरस्कृत हुनेमा कैलालीकी कामना देउवा, डडेल्धुराकी सविना अवस्थी र अछामका जगत वड रहेका छन् । उनीहरुले लैङ्गिक हिसा विरुद्धको सचेतनामुलक भिडियो बनाई मन्त्रालयमा पठाएका थिए ।

छाडा बन्दै गएको, चर्चाका लागि विभिन्न अराजक गतिविधि गरि भिडियो राख्ने प्रचलन जस्ता गतिविधि नियन्त्रण गर्न यस्ता प्रतियोगिताले न्यूनिकरण गर्न थप मद्दत पुग्ने उपप्रमुख कन्दकला राना बताउँछन् । उनले भनिन –‘पछिल्लो समय सामाजिक सञ्जालका कारण महिलाहरु बढी पीडित भईरहेका छन् । महिलामाथि हुने हिँसा रोक्न विद्युतिय ऐन कडाई गर्नुपर्छ र टिकटकमा भाइरल हुने प्रचलनका लागि जस्तो पायो त्यही गतिविधि रोक्न पनि प्रतियोगिताले थप मद्दत पुग्छ ।’